माओवादी मन्त्री बिनाविभागीय

काठमाडौं, असोज २८ ।
प्रधामन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई बिनाविभागीय बनाउने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाले हाल सरकारमा रहेका मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्दै माओवादी केन्द्रका मन्त्रीहरुलाई बिनाविभागीय बनाउने तयारी थालेको प्रधामन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री देउवाले राप्रपालाई गृह, उद्योग, सहरी विकास र आपूर्ती मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् । ’आज साँझ बिनाविभागीय मन्त्रीका रुपमा राप्रपाबाट मन्त्री बन्नेहरुले सपथ ग्रहण गर्नेछन्, माओवादीका मन्त्रीलाई बिनाविभागीय बनाएर उनीहरुलाई त्यसमा प्रतिस्थापन गरिनेछ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।
माओवादीका तर्फबाट हाल सरकारमा उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी कृष्णबहादुर महराले सम्हालेका छन् । यस्तै, जनार्दन शर्माले गृह, गिरिराजमणी पोखरेलले स्वास्थ्य, महेन्द्रबहादुर शाहीले ऊर्जा, शिवकुमार मण्डलले आपूर्ति, टेकबहादुर बस्नेतले सामान्य प्रशासन र आशा कोइरालाले महिला बालबालिका मन्त्रीको जिम्मेवारी पाएका छन् ।
राप्रपाका तर्फबाट आज साँझ ७ बजे कमल थापासहित मन्त्रीमा जयन्त चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापाले सपथ ग्रहण गर्दैछन् । माओवादी केन्द्रले भने सरकारमा सहभागी मन्त्रीलाई नहटाउने र सरकारको समर्थन समेत फिर्ता नलिने निर्णय गरेको छ । पार्टीका शीर्ष नेताको बैठकले एमालेसँगको तालमेल मजबुत बनाउने र सत्ता गठबन्धनसँगको पनि सहकार्य कायम राख्ने निर्णय गरेको हो ।