माओवादी मन्त्रीलाई हटाउने देउवाको तयारी

काठमाडौं, असोज १९ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले माओबादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी गरेका छन् । आफ्नो सरकारले स्पष्ट बहुमत पाएपछि उनले शीर्ष नेता र कानुन व्यावसायीसँग छलफल गरेर माओबादी मन्त्री हटाउन लागेका हुन् ।
बहुमतका लागि २ सय ९७ मत सुरक्षित भएलगत्तै प्रधानमन्त्रीले माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने छलफल सुरु गरेका एक नेताले बताए । उनका अनुसार माओवादी मन्त्रीको बर्खास्तीसँगै सरकार पुनर्गठन हुनेछ । तर निर्वाचन आचारसंहिताले भने रोक्न सक्ने सम्भावना छ ।
यद्यपि, आचारसंहिता लागेकै अवस्थामा यसअघि पनि देउवाले राप्रपा प्रजातान्त्रिकका नेताहरुलाई मन्त्रिमण्डलमा समावेश गराइसकेको नजिर कायम छ । त्यसैलाई टेकेर प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेको देउवा निकट स्रोतले बतायो ।
हालः कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका दलसँग ३ सय मत छ । बुधबार गठित लोकतान्त्रिक गठबन्धनमा आबद्ध रहेका दलमध्ये कांग्रेससँग २ सय ७, राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग ३७, राष्ट्रिय जनता पार्टीसँग २४, नेपाल लोकतान्त्रिक फोरमसँग १७ र संघीय समाजवादी फोरमसँग १५ सहित ३ सय मत कायम छ। गठबन्धन बाहिर रहेको तर सरकारमा सहभागी भएका नेकपा संयुक्त दलका ३ सिट छन् ।
संविधानतः सरकार टिकाउनका लागि कम्तिमा २ सय ९७ मतसहितको बहुमत चाहिन्छ । प्रधानमन्त्री देउवाले त्यसका लागि प्रयास गरिरहेका छन् । माओवादी मन्त्रीलाई बर्खास्त गरेपछि देउवा सरकारसँग बहुमतभन्दा ५ मत बढी हुने देखिन्छ ।
स्रोतका अनुसार गठबन्धनमा आबद्ध रहेपनि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र कमल थापा नेतृत्वको राप्रपाले भने सरकार पुनर्गठनका बारेमा भने अझै पनि केही बोलेका छैनन् । त्यसका लागि देउवाले दुवै पार्टीका शीर्ष नेतासँग छलफललाई तिव्र बनाएका छन् । आजै बिहान मात्रै राप्रपा अध्यक्ष कमल थापालाई भेट्न अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पुगेका थिए ।
देउवाले अन्य साना दलसँग पनि वार्ता र संवाद अघि बढाइरहेका छन् । प्रधानमन्त्री देउवाले भरपर्दो बहुमत जुटाएलगत्तै माओवादी मन्त्रीहरुलाई आजै बर्खास्त गरेर भोलि सरकार पुनर्गठन गर्ने तयारीमा लागिसकेका छन् ।