माओवादीले गर्यो ३ ठूला नेतालाई कारबाही

काठमाण्डौं, फागुन ११ ।
नेकपा माओवादी केन्द्रले केन्द्रीय सचिवालयका तीन नेतालाई कारबाही गरिएको छ । पार्टी सिद्धान्त र आचरणविपरीत काम गरेको भन्दै माओवादी केन्द्रले केन्द्रीय सचिवालयका सदस्य विश्वभक्त दुलाल ’आहुति’, लोकेन्द्र विष्ट मगर र गोपाल किताँरीलाई कारबाही गरेको हो । माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकता गर्ने निर्णय गरेसँगै आहुतिले अब आफू माओवादी केन्द्रमा नरहेको बताएका थिए । फागुन ७ मा पार्टी एकताको निर्णय गरेलगत्तै असन्तुष्टि जनाउँदै गोपाल किराँतीले माओवादी आन्दोलनको पुनर्गठन गरिएको बताएका थिए ।
नेता लोकेन्द्र विष्ट मगरसमेत पछिल्लो समय माओवादी केन्द्र नेतृत्वसँग असन्तुष्ट छन् । विष्ट जनयुद्ध दिवसको अवसरमा मोहन वैद्य र नेत्र विक्रम चन्द नेतृत्वको माओवादीको कार्यक्रममा सहभागी भएका थिए । माओवादीका एक नेताले पार्टी विरुद्धको गतिविधि गरेका कारणले तीन नेतालाई कारबाही गर्ने निर्णय गरिएको जानकारी दिए ।