माओवादीले गर्यो विवादमै मन्त्री सिफारिस

पोखरा, फागुन ५ ।
शुक्रबारको शपथ ग्रहण कार्यक्रममा माओवादी र एमालेका गरी ४ मन्त्रीको सँगै शपथ गराउने कार्यक्रम थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माओवादीबाट २ जना मन्त्रीको नाम मागे । त्यसपछि माओबादी केन्द्रको संसदीय बैठक विहिबार बस्यो । पार्टी इन्चार्ज देव गुरुङ र संयोजक हरि अधिकारी सहितको उपस्थितीमा भएको बैठकबाट संसदीय दलका नेता हरिबहादुर चुमान र गोरखाका सांसद लेखबहादुर थापाको नाम पठाउने निर्णय गरेको थियो । तर प्रदेशका अरु सांसदहरुले विरोध गरेपछि माओवादीले मन्त्री पठाउन सकेन । उनीहरुले नेता र उपनेतालाई मन्त्रीमा पठाउन आग्रह गरेका थिए ।
नभए महिलालाई मात्रै मन्त्री बनाउने प्रश्ताव पनि अघि सारिएको माओवादीका एक नेताले भने । ‘नेताहरुले पकेटबाट निकालेकाले अहिले सिफारिसमा परेका दुवै सांसद बढी विवादित भए । चुमानलाई संसदीय नेता भएकाले बल्ल बल्ल स्विकार गरेका हुन्, ति नेताले भने–कि संसदीय दलका नेता र उपनेता पठाउनुप¥यो नभए दुवैलाई छोडेर अरु मान्छे पठाउनुपर्छ भन्ने हाम्रो माग हो ।’ अरु सांसदको कुरा नसुनी माओवादी केन्द्रले चुमान र थापालाई मन्त्रीमा पठाएको हो । चुमानलाई देव गुरुङ र थापालाई हरि अधिकारीले अघि सारेका हुन् । चुमान एकता प्रक्रियाका क्रममा देव गुरुङसँगै माओबादी छिरेका हुन् भने लेखबहादुर थापा हरि अधिकारीका नजिकका नेता ।
शपथ ग्रहण कार्यक्रममा माओवादीका सांसदहरु सहभागी नै भएनन् । एमालेका धेरै सांसदहरु शपथ ग्रहण समारोहमा भेला हुँदा माओबादीका केही बाहेकका सांसद उपस्थित थिएनन् । कास्कीका दिपक कोइराला, रामजी बराल, गायत्री गुरुङ, स्याङजाका दीपक चर्तीमगर, म्याग्दीका विनोद केसी, बागलुङका चन्द्रबहादुर बुढा लगायतका सांसद देखिएनन् । उनीहरुले बैठकमै अन्तरविरोध राखेका थिए ।