माओवादीलाई सघाएर काँग्रेस प्रतिपक्षमा बस्छ–कोइराला (अन्तरवार्ता)

पोखरा, पुस १६ ।
राज्य पुनर्संरचनापछि देशमा नयाँ संरचनाका सबै चुनाव सकिए । स्थानीय, प्रदेश र प्रतिनिधीसभाको चुनावमा लामो राजनीतिक विरासत भएको पार्टी नेपाली काँग्रेसको नतिजा सोचेभन्दा निकै कमजोर आयो । यतिबेला काँग्रेस पराजयका कारणबारे बहस र छलफल हुन थालेका छन् । यद्यपी काँग्रेसको केन्द्रिय समिति बैठक अहिलेसम्म पनि बसेको छैन । केहीले सभापति शेरबहादुर देउवालाई आरोप लगाईरहेका छन्, अर्काथरिले गठबन्धनलाई मुख्य कारण मानिरहेका छन् । काँग्रेसको पराजयले देशको राजनीतिबारे पनि चासो र चिन्ता सुरु भएको छ । यसै सन्दर्भमा डिएनएनेपाल डटकम का सम्पादक प्रकाश ढकालले नेपाली काँग्रेसका महामन्त्री डा. शसांक कोइरालासँग कुराकानी गरेका छन् । प्रश्तुत छ सोही कुराकानीको छोटो अंश ।
काँग्रेसकै भाषामा भन्दा संसारबाट लोपोन्मुख भैसकेको कम्युनिष्ट पार्टीलाई नेपाली काँग्रेसले नेपालमा स्विकार्नुपर्ने के त्यस्तो बाध्यता आईलाग्यो डाक्टरसाव ?
हैन, यसलाई ऐतिहासिक दृष्टिकोणले हेर्नुपर्छ । ०४६ सालको आन्दोलनमा कम्युनिष्टलाई हामीले साथमा लियौं । नलिएको भएपनि हुन्थ्यो । तर मेलमिलाप गरेरै जानुपर्छ भन्ने नेताहरुले सोच्नुभयो । त्यसपछि माओवादीको द्धन्द्धकालपछि काँग्रेसले आँफु हार्छु भन्ने थाहा हुँदाहुँदै पनि निर्वाचन भयो । गिरिजावावुले त्यो साहस देखाउनुभयो । पार्टी हारेपनि मुलुकले जित्नुपर्छ भन्ने ठानेर काँग्रेसले कम्युनिष्टलाई राष्ट्रिय राजनीतिमा शरण दिईरह्यो । जंगलमा बसेका माओवादीले चुनावको बाटो हुँदै सिंहदरबार पुग्ने अवसर पायो । त्यो वातावरण नेपाली काँग्रेसले बनाईदिएको हो । गत निर्वाचनमा वामपन्थी एकीकरण भयो । त्यसले गर्दा हामी धेरै पछाडी परेका छौं । जुन तपाईँको प्रश्न छ, नेपाल गरिव राष्ट्र हो र गरिव राष्ट्रमा कम्युनिष्टहरु बढी सलवलाउँछन् । कम्युनिष्टहरु सुकुम्बासी र गरिवसँग सम्बन्ध जोड्छन् । उनीहरुलाई अल्मल्याउँछन् । त्यसैले राष्ट्र समृद्ध हुने वित्तिकै आफ्सेआफ कम्युनिजम हराएर जान्छ ।
त्यसोभए नेपाल अझैपनि समृद्धीउन्मुख हुन सकेन ?
सकेन । र अव कम्युनिष्टहरुको हातमा सरकार जाँदैछ । हामी सकारात्मक दृष्टीकोण राखेर सघाउनुपर्छ । राम्रा कामलाई सघाउने र गलत कामलाई विरोध गर्ने हाम्रो दायित्व हो । मुलकको समृद्धी हाम्रो लक्ष्य हुनेछ ।
काँग्रेसले के का लागि यति लामो राजनीति गरेको त ?
म मान्छु काँग्रेसले लामो समय राजनीतिक अग्रभागमा बसेर काम ग¥यो । तर हाम्रा पछि धेरै चुनौति थिए । राजा सबैभन्दा ठूलो पक्ष थियो । राणासँग, पञ्चसँग, राजासँग फरक समयमा फरक पक्षसँग लड्दालड्दै हाम्रो ७ दशक सकियो । तर हामीले एउटा गतिरोध अन्त्य गरिछाड्यौं । अब राजनीतिमा कुनै ब्यवधान छैन । विकासको राजमार्गमा देशलाई ल्याईपु¥याएका छौं । अव बल्ल समृद्धी र आर्थिक विकासको अभियान सुरु भएको छ । मलाई विश्वास छ, काँग्रेसले लडाईं नलडिदिएको भए अझैपनि समृद्धी भन्ने शब्द राजनीतिक बृत्तमा सुरु नै हुन्थेन ।
राष्ट्रिय महत्वका केही बिषयमा नेपाली काँग्रेस पटक पटक चुक्यो । अर्थात १३ औं महाधिबेशनपछिका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि काँग्रेसको राजनीति ओह्रालो लागेको आम जनताको बुझाई छ, तपाईँलाई त्यस्तो लाग्दैन ?
शेरबहादुर देउवा सभापति बन्नुभयो । यो जुन मिराकल भयो । यो वहाँको मात्रै जिम्मेवारी होईन । हामीले पनि यसको जिम्मेवारी लिनुपर्छ । वहालाई मात्रै देखाएर आफ्नो कमजोरी लुकाउने पक्षमा म छैन । मेरोपनि केही कमजोरी छ । म पनि पार्टीको महामन्त्री हो । मैले पनि यसको अपजस लिनुपर्छ । तसर्थ अहिले हामीले पार्टीलाई मिलाएर अगाडी बढ्नुपर्छ रणनीतिक हिसावले । हामीले अव नेपालको राजनीतिमा कम्युनिष्ट एकता तोड्नुपर्छ । यो नै काँग्रेसको रणनीति हो । उनीहरुको गठबन्धन टुटाउनुपर्छ । यसले नै काँग्रेसलाई फाईदा हुन्छ । यो सम्भावना पनि छ । उनीहरु बाहिर मिलेको जस्तो देखिएपनि भित्रभित्रै टुटिसकेका छन् । त्यसैले प्रचण्डजीलाई नै आगामी ५ बर्षको प्रधानमन्त्री बनाउने पक्षमा काँग्रेस छ ।
काँग्रेस अझैपनि प्रतिपक्षमा नबस्ने ?
काँग्रेस सत्तामा जाने होईन । हामी बाहिरै बसेर वहाँहरुलाई सघाउने हो । काँग्रेस चाहीँ यो बीचमा संगठन सुदृढीकरणको काममा लाग्छ । आगामी राजनीतिका लागि रणनीति बनाउछ । हामी सरकार बनाउँदैनौं ।
एकाथरी त काँग्रेसमा विशेष महाधिबेसनको प्रश्ताव पनि अघि सारिरहेका छन् । विशेष महाधिबेशन हुन्छ ?
यो पनि शेरबहादुरजी लाई नै गरिएको आक्रमण जस्तो लाग्छ मलाई । तर यो समाधानको विकल्प होईन । बरु पार्टी संगठनलाई चुस्त दुरुस्त बनाउनु आजको आवश्यक्ता हो । वहाँलाई हटाउने भन्दाखेरी वहाँमात्रै दोषीजस्तो देखिनुभयो । यहाँ त पूरै संगठन दोषी हो । सबैजना आँफ्नै हिसावले सच्चिनुपर्छ ।
शेरबहादुरजीले प्रचण्डजीसँग गाला जोडेको कुरा सुनिन्छ । देउवाजीलाई अर्को आरोपपनि थपिएको छ कि माओवादीसँग मिलेर काँग्रेस सिध्याउन लाग्नुभयो भन्ने, पार्टीसँग छलफल भएर यो कुरा गर्नुभएको कि आँफुखुशी ?
यो बिषयमा कुनै छलफल भएको छैन । स्थानीय चुनावमा प्रचण्डजीले छोरीलाई उठाउनुभयो । चितवनमा पुगेर काँग्रेसले समर्थन गर्नुपर्यो । अहिले वामपन्थीको नाममा हामीलाई अलग्याईएको छ । त्यसैले प्रचण्डजीको चलखेलमा जाने हो कि हामीले हाम्रो रणनीति बनाउने हो त्यो बिषयमा छलफल हुनुपर्छ । मलाई लाग्दैन शेरबहादुरजीले नराम्रो गर्नुभएको छ ।
स्थानीय चुनावमा मिलेको माओवादीलाई काँग्रेसले ६ महिना पनि टिकाउन सकेन । के कारणले बाहिरिएछ माओवादी काँग्रेसको गठबन्धनबाट ?
यो तपाईँले प्रचण्डकै कुरा गर्नुभएको होला । वहाँले शेरबहादुरजी सँग कुरा गर्दा सीटको तालमेल मिलेन एमालेले ४० प्रतिशत दिने भयो भनेर उता गएको बताउनुभयो । वहाँहरु दुईबीचको कुरा मलाई राम्रोसँग थाहा भएन । तर कुरा चाहीँ भएको हो । तालमेल नै नमिलेर प्रचण्डजी एमालेसँग मिल्नुभएको हो । यो बिषयमा मसँग छुट्टै कुरा भएको थिएन ।
देश अव कता जाला ? साँच्चै देशमा कम्युनिजम सुरु भएको हो ? यहाँहरुकै शब्दमा भन्ने भने अव नेपालमा अधिनायकबाद लागू भयो ?
अहिले नै त लागू भएको छैन । तर अव उनीहरुले कुन किसिमले सरकार बनाउँछन्, त्यसले स्पष्ट हुन्छ । डर त छ, यहाँ कम्युनिजम ल्याउँछन् कि भन्ने । दुई तिहाईले संविधानपनि संशोधन गर्न सकिन्छ । अव उनीहरुको तयारी के छ, कम्युनिजमतिर जानपनि सक्छ ।
काँग्रेसले हारेको चाहीँ के कारणले त ? पार्टीभित्र छलफल भयो ?
धेरै कारणहरु छन् । मुख्य पार्टी संगठन हो । दोश्रो तालमेल हो । तेश्रो टिकट वितरणमा पनि त्रुटी भएको छ । राम्रा र पूराना मान्छेलाई टिकट नदिएर पुँजीपतिलाई टिकट दिएको आरोप पनि भयो । हाम्रा संगठन राम्रोसँग परिचालित हुन सकेनन् । लोकतान्त्रीक नामको गठबन्धन पनि बलियो भएन । राजपा र राप्रपालाई मिलाउन सकिएन । यसबाहेकका कारण पनि छन्, हामी अवको बैठकमा यि बिषयमा छलफल गरेर ठोस धारणा सार्वजनिक गरौंला ।
सरकार गठन के कारणले रोकियो ? किन ढिलो भैरहेको छ ?
हामीले ढिलो गरेको होईन । काँग्रेस त सत्ता हस्तान्तरण गर्न आतुर छ । अध्यादेश रोकिएको कारण ढिलो भएको हो । अहिले बल्ल बल्ल अध्यादेश प्रमाणित भयो । यसले अपर हाउस गठन हुन्छ । अपर हाउस बनेपछि नयाँ सरकार बन्छ । अव छिट्टै नयाँ सरकार आउँछ । ढुक्क हुनुस् ।
संघीयतालाई चाहीँ कसरी हेर्नुभएको छ ? यो दीर्घायु होला ?
यो नयाँ सिस्टम हो । विकेन्द्रीकरण भनेर विपी कोइराला भन्नुहुन्थ्यो, यसको अन्तिम स्वरुप संघीयता हो । तर अभ्यास विना नै हतार गरेर संघीयतातर्फ लाग्यौं । संरचनाहरु बनेका पनि छैनन् । अभ्यास गर्नमै अव १० बर्ष लाग्छ । त्यसपछि सहज रुपमा अगाडी बढ्ला ।
५ बर्षपछि नेपाल र नेपाली काँग्रेसको राजनीति कहाँनेर होला ?
२ बर्ष त सरकारलाई गिराउन पनि पाईंदैन । त्यसपछि उनीहरुको क्रियाकलाप हेरेर सरकार गिराउने कि राख्ने भन्ने फैसला हुन्छ । राम्रो भए निरन्तर हुन्छ नत्र मध्यावधी चुनावको पनि सम्भावना हुन्छ । ५ बर्षबीचमा हाम्रो अधिवेशन पनि हुन्छ । नयाँ नेतृत्व आउँछ । त्यसको नीति कस्तो हुन्छ, त्यसमा पनि भर पर्छ । तर जेसुकै होस्, ५ बर्ष एउटा सरकारले चलायो र हामी संगठीत भएर आयौं भने राम्रो प्रदर्शन गर्न सक्छौं । त्यतातिर हाम्रो ध्यान जानुपर्छ ।
७० बर्षदेखिको काँग्रेस विरास कोइराला परिवारमा छ । बीचमा केहीबर्ष ग्याप भयो, अवको सभापति तपाईं हो ? के तयारी छ ?
अहिले मैले साथीहरुसँग परामर्श नगरिकन भन्न मिल्दैन । मभन्दा पनि पोख्त र सिनियर नेताहरु हुनुहुन्छ । तर कार्यकर्ताले चाहानुभयो भने बन्न पनि सकिन्छ । अधिबेशन भन्दा अघि तयारी गरेर आफ्नो भूमिका स्पष्ट बनाएर अगाडी बढ्छु ।