माओवादीका मुख्यमन्त्री हेडक्वार्टरले टुंग्याउने

काठमाण्डौं, माघ १६ ।
माओवादी केन्द्रमा प्रादेशिक सरकारको मुख्यमन्त्रीको चयन पार्टीको केन्द्रीय सचिवालयबाट गर्ने भएको छ । वाम गठबन्धनसँगको समझदारी अनुसार ६ र ७ नम्बर प्रदेशमा मुख्यमन्त्री पाउने निश्चित गरेको माओवादीले प्रादेशिक सरकारको नेतृत्वबारे हेडक्वार्टर बैठकबाट टुंगो लगाउने तयारी गरेको हो । पार्टी प्रवक्ता पम्फा भुसालले पार्टीको प्रदेश कमिटी र प्रदेशको संसदीय दलको सिफारिस अनुसार केन्द्रले मुख्यमन्त्रीको टुंगो लगाउने बताइन् ।
‘प्रदेशको कमिटी र प्रदेशको संसदीय दलको सिफारिस अनुसार केन्द्रीय सचिवालय बैठकले मुख्यमन्त्री लगायत अन्य पदको विषयमा निर्णय गर्छ’, प्रवक्ता भुसालले नेपाल लाइभसँग भनिन् । एमालेसँगको सहमति अनुसार माओवादी केन्द्रले दुई प्रदेशमा मुख्यमन्त्री पाउनेछ भने प्रदेश ४ र ५ सभामुख र १, ३, ६ र ७ नम्बर प्रदेशमा उपसभामुख पाउनेछ । प्रादेशिक मन्त्रिमण्डलमा माओवादीले आफूलाई ३० र एमालेलाई ७० प्रतिशतको भागबन्डामा सहमति जनाइसकेको छ । वाम गठबन्धनको अर्को घटक एमालेले भने मुख्यमन्त्री चयन गर्ने अधिकारी सम्बन्धित प्रदेशसभालाई नै दिने निर्णय गरेको छ ।