माओवादीका मन्त्रीले फर्काएनन् गाडी, प्रदेश प्रमुखलाई अभाव

काठमाडौं, माघ ५ ।
माओवादीका मन्त्रीहरुले राजीनामा दिएपछि पनि गाडी नबुझाएपछि प्रदेश प्रमुखका लागि गाडी अभाव भएको छ । उनीहरुका लागि तत्काल गाडीको व्यवस्था गर्न गृह मन्त्रालयले विभिन्न मन्त्रालयलाई ताकेता गरेको छ । लामो समय बिनाविभागीय मन्त्री भएर रहेका र अहिले राजीनामा दिएका माओवादीका मन्त्रीहरुले गाडी फिर्ता गरेका छैनन्। उनीहरुले गाडी फिर्ता नगरेकै कारण नवनियुक्त प्रदेश प्रमुखलाई गाडीको व्यवस्था गर्न सरकारलाई सकस परेको हो ।
प्रदेश प्रमुखका लागि निर्वाचन आयोगका विलासी गाडीहरु तान्ने योजना बनाए पनि अन्तिममा पूर्वमन्त्री र राज्यमन्त्रीको गाडी मागिएको हो । ’हामीले राज्यमन्त्रीका लागि फिर्ता मागेका छौं’, सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले भने, ’आजै गाडीको व्यवस्था गर्न लागिपरिरहेका छौं ।’ नवनियुक्त प्रदेश प्रमुखहरुले आज समथ लिएपछि उनीहरुलाई गाडी सुविधा आवश्यक पर्नेछ ।