महिना दिन लगाएर मिटर ब्याज गिरोह पक्राउ गर्न कास्की प्रहरी सफल भयो

पोखरा, भदौ २६ ।
पोखरामा बिगबिगी वनेको मिटरब्याजको जालो प्रहरीले तोड्ने प्रयास गरेको छ । कास्की प्रहरीको जिम्मा सम्हालेदेखीनै प्रहरी उपरीक्षक दान बहादुर कार्कीले विशेष टोली बनाएर मिटरब्याज सञ्चालन गर्ने गिरोहमाथी विशेष निगरानी गर्दै आइरहेको थियो । प्रहरीले मिटर ब्याज सञ्चालन गरी विभिन्न ब्याक्तिहरुलाई धम्क्याउने समुहमाथी प्रहरीको विशेष निगरानी रहेको वेला बुधवार कास्की प्रहरीलाई ठूलो सफलता हात लाग्यो ।

मिटर ब्याज संचालन गरी निर्माण ब्यवशायी जीवन भनिने रत्न बहादुर कार्कीलाई अपहरण गरी कुटपिट गरेकै अवस्थामा मिटर ब्याज सञ्चालन गर्ने गिरोहलाई रंगेहात पक्राउ गर्न सफल भयो । बुधवार निर्माण ब्यवशायी रत्न बहादुर कार्कीलाई अपहरण गरी कुटपिट गर्दै गरेको अवस्थामा पोखराको नया बजार स्थित शान्तिवन बाटिकामा रहेको निर्माण ब्यवशायी समितीको भवन परिसरबाट ४ जना मिटर ब्याज सञ्चालन गर्नेलाई पक्राउ गर्न कास्की प्रहरी सफल भएको हो ।

प्रहरीले कार्कीलाई अपहरण गरेको आरोपमा पोखरा १५ का गौतम थापा, पोखरा २ अर्चलबोटका रोहित सुनार, पोखरा ८ का वासुदेव पोखरेल र पोखरा १० का प्रेम बहादुर थापालाई पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी राजकुमार केसीको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो ।पक्राउ परेका चारै जनाले कार्कीलाई पटक–पटक ज्यान मार्ने, अपहरण गर्ने जस्ता धाकधम्की दिदै आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताए । रत्न बहादुर कार्कीले आफूले १६ लाख रुपैयाँ सापटी लिएको तर, ८ वर्षमा ३ करोड भन्दा बढी रकम तिरिसकेको प्रहरी समक्ष बताएको प्रहरीले जनाएको छ ।

उनीहरूले निर्माण व्यवसायी कार्कीलाई बुधबार बिहान करिब ११ बजे नयाँबजारको सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिको कार्यालय अगाडिबाट जर्बजस्ती गाडीमा हाली शान्तिवन बाटिका छेउमा रहेको निर्माण ब्यवशायी समितीको भवन परिसरमा लगी कुटपिट गरेका थिए । पक्राउ पर्ने टोलीको नाइके गौतम थापा भएको प्रहरीको भनाई छ । पक्राउ परेका चारै जनालाई अदालतमा अपहरण सम्बन्धी मुद्धामा म्याद थप गरी अनुसन्धान कारबाही अगाडी वढाइएको कास्की प्रहरीले जनाएको छ ।