महानगरको प्राविधिक परीक्षा विवादित, काँग्रेस वडाध्यक्षको विरोध

प्रकाश ढकाल
पोखरा, चैत ५ ।
पोखरा लेखनाथ महानगरपालिकामा प्राविधिक नियुक्त गर्नका लागि अपनाईएको प्रक्रिया गलत भएको विद्यार्थीहरुले गुनासो गरेका छन् । परीक्षामा सहभागी ईञ्जिनियरहरुले लोकसेवाको पाठ्यक्रम विपरित परीक्षा लिईएको गुनासो गरे । ‘जुनसुकै परीक्षाका लागि पनि लोकसेवाको रोहबर हुनुपर्छ । तर महानगरले डब्लुआरसीलाई परीक्षा लिने अधिकार दियो, एक परीक्षार्थीले भने–सेटिङ मिलाएर नजिकका मान्छे हाल्न लागिएको छ । परीक्षा फेयर भएन ।’ गएको पुस ७ गते कार्यपालिका बैठक बसेर महानगरका ३३ वटै वडामा सिभिल इञ्जिनिर करार सेवामा लिएर काममा खटाउने निर्णय भएको थियो । तर नियुुक्ति प्रक्रिया भने कार्यपालिका बैठकमा छलफल भएको थिएन । यसको निर्णय गर्ने अधिकार संगठन स्वरुप, जनशक्ति एवं कर्मचारी पदपुर्ति बढुवा तथा स्थायी गर्न गठन भएको समितिलाई दिईएको थियो । तर समितिमा कुनै छलफल नभएको समितिका एक सदस्यले बताए । ‘आवश्यक्ता अनुसार इञ्जिनियर राख्ने निर्णय भएको हो । प्रक्रिया चाहीँ समितिले टुंग्याउने भनिएको थियो, ति सदस्यले भने–समितिमा कुनै छलफल भएको छैन । एक्कासी सूचना आएपछि मात्रै थाहा पायौं ।’ महानगरले गएको फागुन १ गते १५ दिने सूचना निकालेर परीक्षाका लागि आवेदन मागेको थियो । फागुन २६ गतेलाई लिखित परीक्षा हुने भनिएपनि विना कारण १ साता पछि सारिएको विद्यार्थीहरुले बताए ।
‘ईञ्जिनियरको परीक्षा प्रणाली सब ईञ्जिनियर जस्तो होईन । सब्जेक्टीभ र अभ्जेक्जीभ दुईथरी प्रश्नपत्र हुनुपथ्र्यो, उनीहरु भनछन्–अहिले अभ्जेक्टीभ मात्रै भयो । पाठ्यक्रम अनुसार परीक्षा भएन ।’ विद्यार्थीहरुले प्रश्नपत्र बाहिरिएको आरोप पनि लगाएका छन् । नगरपालिकाकै कर्मचारीले समेत परीक्षा दिएका उनीहरु बताउँछन् । श्रोतका अनुसार करारमा जागिर खाइरहेका सब ईञ्जिनियर रामचन्द्र पोख्रेलले करारमा जागिर खान ईञ्जिनियरको परीक्षा दिएका हुन् । उनी एपेक्स कन्सल्टेन्सीमा काम गर्छन् । सोही कन्सल्टेन्सीका बाबुराम भण्डारी परीक्षा प्रक्रियामा सहभागी छन् । ‘एपेक्समा काम गर्ने ईञ्जिनियरहरु धेरैले परीक्षा दिएका छन् । परीक्षा लिने र दिने एउटै कन्सल्टेन्सीको हुँदा कसरी फेयर हुन्छ ?, उनीहरुले भने–प्रश्नपत्र पनि पोको पारेर ल्याईएको थियो । शिल थिएन ।’
महानगरमा कर्मचारी नियुक्ति गर्न समिति गठन भएदेखि नै विवाद देखिएको हो । गएको असार १३ गते बसेको दोश्रो कार्यपालिका बैठकबाट संस्थागत विकास तथा सेवा प्रबाहका लागि वडा नम्बर ६ का अध्यक्ष जगतबहादुर पहारीको संयोजकत्वमा ८ सदस्यीय समिति गठन भएको थियो । समितिमा ६ जना वडाध्यक्ष सहित बरिष्ठ कानुन अधिकृत र प्रशासकीय अधिकृत सदस्य थिए । त्यसपछि भदौ १ गते बसेको बैठकबाट नगरसभाको निर्णय भन्दै यसअघि गठन भएको समितिलाई उल्ट्याएर उपमेयरको संयोजकत्वमा नयाँ समिति गठन गरिएको छ । अघिल्लो निर्णय उल्ट्याएपछि काँग्रेसतर्फका वडाध्यक्षहरुले विरोध सहित बैठक नै बहिष्कार गरे । वडाध्यक्षहरुको सहमति नहुँदा नहुँदै जबरजस्त नगरपरिषद्मा प्रश्ताव नै नल्याई परिषद् पछि निर्णय गराएर नयाँ समिति गठन भएको उनीहरु बताउँछन् । पछिल्लो समितिमा पहारीलाई सदस्य बनाएर कार्यपालिका बैठकमा सिफारिस गरिएको थियो । वडाध्यक्षहरुले विरोध गरेपछि पुनः भदौ १९ गते अर्को बैठक बसेर पहारीलाई सहसंयोजक तोकी वडा नम्बर ४ का अध्यक्ष शंकरप्रसाद बास्तोलालाई सदस्य बनाईयो । राजनीतिक प्रभावमा पारेर विभिन्न बाहानामा काँग्रेसलाई पाखा लाउने काम गरिएको वडाध्यक्षहरुको आरोप छ ।
अहिलेको परीक्षामा पनि राजनीतिक प्रभाव देखिएको उनीहरु बताउँछन् । सामान्य छलफलका आधारमा एक्लौटी हिसावले परीक्षा लिईएको पोखरा ९ का अध्यक्ष तथा काँग्रेस सचेतक रामराज लामिछानेले बताए । ‘कार्यपालिकामा छलफल नै गरेनन् । समितिमा पनि कुरा भएकै छैन, उनी भन्छन्–बहुमतका नाममा मनोमानी तरिकाले काम भैरहेको छ । यसप्रति हाम्रो चर्को विरोध छ ।’ उपमेयर तथा पदपुर्ति समितिकी संयोजक मञ्जुदेवी गुरुङले चाहीँ लोकसेवाले नै परीक्षा लिएको बताईन् । ‘कार्यपालिका बैठकबाट निर्णय भएको छ, उनले भनिन्–लोकसेवा मार्फत परीक्षा लिईएको हो । कुनै त्रुटी छैन ।’ तर परीक्षामा लोकसेवाले डेकोडिङ मात्रै गरेको र परीक्षा चाहीँ पश्चिमाञ्चल ईञ्जिनियरिङ कलेजले लिएको महानगरका एक कर्मचारीले बताए । ‘लोकसेवालाई परीक्षाको अधिकार दिँदा समय लामो लाग्छ, ति कर्मचारीले भने–महानगरलाई छिटै प्राविधिक चाहिएकाले छोटो बाटोबाट काम गरिएको हो ।’
महानगरपालिकाले २४ जना ओभरसियरको आवेदन खुलाएकोमा २ सय ३५ जनाले आवेदन दिएका थिए भने २ सय २० जना परीक्षामा सहभागी थिए । यस्तै ७ जना सिभिल ईञ्जिनियरको कोटामा २ सय १४ जनाको आवेदन परेकोमा १ सय ९७ जनाले परीक्षा दिए । उता १ जना मेकानिकल ईञ्जिनियरतर्फ ८ जना प्रतिश्पर्धामा छन् । लिखित परीक्षाबाट छानिएका परीक्षार्थीलाई मौखिक परीक्षामार्फत छनोट गरेर चालु आवको मसान्तसम्म करार नियुक्ति दिईने छ ।