महानगरको दोश्रो सभा

पोखरा, फागुन ३० ।
पोखरा लेखनाथ महानगरपालिकाको दोश्रो नगरसभा सोमबारदेखि सुरु भएको छ । कानुन केन्द्रित सभा सोमबार केही समयमात्रै बसेर स्थगित भयो । सभामा ड्राफ्टका रुपमा आएका १८ वटा विधेयकबारे सामान्य छलफल भएको छ । थप छलफलका लागि चैत ६ गतेसम्मको लागि समय दिईएको छ । यो अवधीमा सम्बन्धीत ऐन नियमका विषयविज्ञसँग छलफल गरेर अन्तिम दस्ताबेज तयार गरिने मेयर मानबहादुर जिसीले जानकारी दिए । सोमबारको बैठकलाई सम्बोधन गर्दै मेयर जिसीले कानुन अभावले महानगरले देखिने गरी काम गर्न नसकेको भन्दै तुरुन्तै आवश्यक कानुन निर्माण गरिसक्ने बताए । उनले यसको अध्ययन र सुझावका लागि सरोकारवालासँग आग्रह पनि गरेका छन् । ‘अहिलेका बिधेयकहरु विल्कुल स्थानीय तहसँग मात्रै सम्बन्धित छन् । अरु धेरै कानुनहरु पनि बनाउन बाँकी छ, उनले भने–ति कानुनहरु प्रदेश र केन्द्रसँग नबाझिने गरी बनाउनुपर्छ । त्यसैले प्रदेशको नीति नियम कुनुपर्छ ।’ कार्यक्रममा एमाले सचेतक, विधायन समितिका संयोजक तथा वडा १९ का अध्यक्ष शोभामोहन पौडेलले ऐन, कार्यविधिहरु ड्राफ्ट मात्रै भएकाले सुधारका लागि सुझाव चाहिएको बताए ।
वडा नम्बर ९ का वडाध्यक्ष तथा काँग्रेसतर्फका वडाध्यक्षहरुको सचेतक रामराज लामिछानेले समन्वयकारी भूमिकाबाट महानगरलाई सक्षम बनाउने प्रतिबद्धता जनाए । कार्यक्रमबाट विधायन समितिका संयोजक शोभामोहन पौडेलले महानगरपालिकाले बिधेयकको रुपमा तयार गरेका १८ वटा कानुनी बिधेयक सोमबार सभामा पेश गरे । महानगरीय कृषि ऐन, कृषि बजार प्रबद्र्धन ऐन, सहकारी ऐन, कर्मचारी ब्यवस्थापन ऐन, कृषि नीति, पशु नीति, स्वास्थ्य नीति, सार्वजनिक निजी साझेदारी नीति तथा ऐन, शिक्षा कार्यविधि, एफ एम रेडियो संचालन कार्यविधि, योजना आयोग गठन कार्य्विधि, विधायन समितिको कार्यविधि, फोहोरमैला ब्यवस्थापन निर्देशिका, भवन मापदण्ड निर्देशिका, विज्ञापन नीति तथा निर्देशिका, न्यायिक समिति विधेयक, बजार अनुगमन निर्देशिका र उपप्रमुखसंग महिला कार्यक्रमको निर्देशिका सोमबारको सभामा पेश भएका छन् । बिधायन समितिमा वडा ४ का अध्यक्ष शंकर बास्तोला र ११ का मोहन बास्तोला, वडा ५ का अध्यक्ष धनबहादुर नेपाली र २१ का खगराज आचार्य सदस्य छन् ।