महानगरकै अबरोधले रोकियो पोखराको जुत्ता मेला

पोखरा, माघ २६ ।
नेपाली जुत्ता घर प्रालिको आयोजनामा शुक्रबारदेखि शुरु हुने भनिएको दोस्रो सँस्करणको जुत्ता मेला स्थानिय व्यवसायीको अवरोधमा हुन सकेको छैन । ‘कम्पनीले सिधै मेलाको आयोजना गरि जुत्ता बेच्दा आफूहरु व्यवसायिक रुपमा असुरक्षित भएको’ भन्दै स्थानिय व्यवसायीहरुले विरोध गरेपछि मेला शुक्रबार शुरु हुन सकेन । व्यवसायीहरुकै दबाबमा पोखरा लेखनाथ महानगरपालिका कार्यालयले पनि मेलाका लागि दिएको अनुमतीलाई बदर गरेको छ । मेलाका लागि आवश्यक अनुमति दिएर मेलाको सम्पूर्ण तयारी गरिसकेको आयोजक ‘नेपाली जुत्ता घर प्रालि’ भने एकाएक स्थानिय व्यवसायीको दबाबमा परेर महानगरले यस्तो निर्णय गरेको प्रति दुखेसो व्यक्त गरेको छ ।
‘हामीले कानुनी हिसाबमा सम्पूर्ण प्रकृया पुरा गरेर मेलाको अन्तिम तयारी गरेका थियौँ । शुक्रबार मेला शुरु हुने र त्यसलाई प्रतिनीधिसभा सदस्य रविन्द्र अधिकारीले उद्घाटन गर्ने गरि व्यवस्थापन पनि गरिसकेका थियौँ । तर अन्तिम समयमा आएर महानगरले पनि स्थानिय व्यवसायीको साथ दिँदै चिठि पठाएको छ । यो सरासर अन्याय हो ।’ जुत्ता मेलाका आयोजक कम्पनी नेपाली जुत्ता घर प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले बताए । उनीहरुले सरकारी खुला व्यापार नीति अन्तरगत रहेर आफूहरुले व्यापार गर्न पाउनुपर्ने माग राखेका छन् । यता पोखराका स्थानिय जुत्ता व्यापारीहरुले भने कुनै हालतमा पनि मेला आयोजना गर्न नदिने अडान लिएका छन् । आयोजक कम्पनीले पोखरामा भएको यो खाले परिस्थितीलाई ‘सिन्डिकेट’को संज्ञा दिएका छन् । अझै यहाँका व्यवसायीहरुको दबाबमा आएर महानगरपालिकाले पनि दिईसकेको अनुमतीलाई बदर गराएर ‘सिन्डिकेट’को पक्ष लिएको उनीहरुले आरोप लगाएका छन् ।
उता उद्योग वाणिज्य संघले पनि कम्पनीहरुले सोझै आएर व्यापार मेला गर्दा यहाँका डिलर र अन्य व्यवसायीहरु मर्कामा पर्ने बताएको छ । संघका महासचिव दामु अधिकारीले स्थानिय व्यवसायीलाई कम्पनीले अझै बढि मर्कामा पारेको बताए । ‘हाम्रो बुझाई अनुसार कम्पनीहरुले यहाँका व्यवसायीहरुलाई डिलरशिप पनि दिने अनि आफँै आएर महिनौ दिनसम्म सोझै आफ्ना उत्पादनहरु पनि बेच्ने काम कम्पनीहरुले रोक्नुपर्छ ।’ उनले भने–‘यहाँका व्यवसायीहरुले लगानी फँसाएर बस्ने अनि त्यहि कम्पनीले यहाँका डिलरहरुसँग कुनै सहकार्य नै नगरि मेला गर्ने गर्दा स्थानिय व्यवसायी नै बरु अन्यायमा परेका छन् ।’ जुत्ता व्यवसायी संघ कास्कीका महासचिव मोहनराज पौडेलले त अझै मेलाको नाममा पोके व्यापारलाई कम्पनीहरुले प्रश्रय दिएको आरोप लगाए । ‘खुला बजार नीति अनुसार कुनै पनि व्यापार खुला आकाशमुनी गर्न पाईदैन । तर यहाँ पोके शैलीमा व्यापार गर्न लाग्दैछन् । यो सरासर कानुन विपरित हो ।’ उनले भने । त्यो बाहेक उनले कम्पनीका मानिसहरुले गुणस्तरहिन सामान मेलाको नाममा उपभोक्तामाझ व्यापार गर्दा यहाँ रहेर सँधै व्यापार गरिरहने अन्य व्यापारीहरुको व्यापारमा प्रत्यक्ष असर परेको बताए ।
साथै पौडेलले यो मेलाका आयोजकहरुले कास्की हस्तकला संघ र पोखरा उद्योग वाणिज्य संघको स्विकृति लिनुपर्नेमा त्यसो पनि नगरेको बताए । नगरपालिकाले मेलाका लागि दिएको अनुमति पनि व्यक्तिगत रुपमा प्रभावमा पारि मेयर र कार्यकारी अधिकृतको स्विकृति बिनै कर अधिकृतबाट ल्याएको उनको आरोप छ ।–साभार गन्थन डटकम/रेम विक