महागनरले नै मिचेको छ फेवातालको मापदण्ड, शिक्षा महाशाखा तालको किनारमा

पोखरा, असार ५ ।
सर्वोच्च अदालतले पटक पटक ६५ मिटर मापदण्ड कायम राख्न र त्यसभित्र पर्ने संरचना हटाउन आदेश दिइरहेको छ । सोमबार सोही प्रकृतिको आदेश दिएपछि अहिले पोखरामा तरंग सिर्जना भएको छ । अधिकांशको प्रश्न छः ‘के पोखराले मापदण्डभित्रका संरचना हटाउन सक्छ ?’ महानगरले ३ वर्षअघि गरेको एक अध्ययन अनुसार ६५ मिटर मापदण्डभित्र ४ सय ९३ वटा घर टहरा रहेको देखाएको थियो । २ सय ४५ वटा स्थायी र २ सय ४८ अस्थायी संरचना तत्कालीन समयमा थिए । अहिले संरचना थपिएको प्रष्टै देखिन्छ ।

पहुँचवालाको होटल रेष्टुरेण्ट समेत यही मापदण्डमा पर्ने भएकोले पोखरा महानगरले ति संरचना हटाउन सक्नेमा धेरैको आशंका छ । संरचना हटाउन नसक्ने भएरै पोखराले ५५ औं कार्यपालिका बैठकबाट फेवाको मापदण्ड ६५ बाट ३० मिटरमा झारेको थियो । पोखरा महानगरले मापदण्ड विपरितका संरचना हटाउने प्रसंग एकातिर छ । तर महानगरकै एउटा कार्यालय फेवाको मापदण्ड विपरित सञ्चालनमा छ ।

शिक्षा महाशाखा तालको किनारबाट चलिरहेको छ । सुरुमा गेष्ट हाउसको रुपमा सञ्चालित उक्त भवनमा पछि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारी निवास बन्यो । नयाँ भवन बनाएर गुरुङले उक्त भवन छोडे । अहिले त्यहाँ शिक्षा महाशाखा चलिरहेको छ । नजिकै रहेको नेपाल पर्यटन बोर्ड, प्रहरी गुल्म लगायत कार्यालयहरु पनि मापदण्ड भित्र पर्छन् ।