महराले सांसद पदबाट राजीनामा नदिए पार्टीले हटाउने

काठमाण्डौं, असोज १५ ।
बलात्कारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएपनि कृष्णबहादुर महराले अझै सांसद पदबाट राजीनामा दिएका छैनन् । सत्तारुढ नेकपाको सचिवालय बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा गर्न सुझाव दिएको छ । तर महरा भने तत्कालै सांसद पद त्याग्ने मुडमा देखिएका छैनन् ।

उनले सभामुख पदबाट राजीनामा दिदाँ समेत लटरपटर भाषा प्रयोग गरे । न त उनले संविधानको धारा उल्लेख गरेका छन् । न त राजीनामा सभामुख पदबाट दिएको वा सांसद पदबाट दिएको नै खुलाएका छन् ।

’पार्टीले छानबिनमा सहयोग होस् भनेर सभामुख र सांसद पदबाट राजीनामा दिन भनेको हो,’ नेकपाका एक सचिवालय सदस्यले भने, ’सांसद रहिरहँदा पनि छानबिनमा असर पर्छ भनेर राजीनामा दिन भनिएको हो । ’

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले राजीनामा दिन सुझाव दिनुअघि महरासँग टेलिफोनमा कुराकानी गरेका थिए । महराले फोनमा अध्यक्षद्वयलाई आफूले कुनै महिलालाई भेट्न नगएको बताएका थिए ।

जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले, ’विज्ञप्तीबाटै थाहा भयो नि’ भन्दै जवाफ फर्काएका थिए । महराले आफू आरोप लगाउने महिलालाई भेट्न नगएको बताए लगत्तै ओलीले व्यङ्ग्य गर्दै ’सुरक्षाकर्मीहरुबाट थाहा भयो’ भन्ने जवाफ दिएका थिए ।

नेकपाका एक सचिवालय सदस्यले महरालाई सांसदको हैसियतमा पार्टीले नचिन्ने बताए । ’उहाँ अब संसदीय दलको बैठकमा निम्त्याइनु हुन्न । किनभने दलले उहाँलाई चिन्दैन’, ती नेताले भने, ’उहाँले कहाँ राजीनामा दिने भन्ने थाहा नपाएकाले सांसद पदबाट राजीनामा नदिनु भएको होला । ’

कुनै सांसद पद छाड्न चाहे सभामुखलाई राजीनामा दिनुपर्ने संवैधानिक व्यवस्था छ । तर सभामुखले राजीनामा स्वीकार नगर्दासम्म पद रहन्छ । संविधान जारी भए लगत्तै बाबुराम भट्टराईले तत्कालिन सभामुख सुवास नेम्वाङलाई राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएको थियो ।

तर संविधानको विरोध गर्दै राजीनामा तत्कालिन सद्भावनाका सांसद लक्ष्मणलाल कर्ण लगायतको राजीनामा सभामुखले स्वीकृत गरेका थिएनन् । फलस्वरुप उनीहरुले संविधान जारी भैसकेपछि संसदमा फर्किएका थिए ।

महराले राजीनामा नदिए उनलाई राजनीतिक दल सम्बन्धी ऐनको दल त्याग सम्बन्धी व्यवस्था मार्फत् हटाउने तयारी नेकपाको छ । ऐनको दफा ३२ मा दलको केन्द्रीय समितिले कुनैपनि सदस्यलाई दलबाट निस्कासन गर्न सक्ने व्यवस्था रहेको छ । यसरी निस्कासन गरेपछि उनको सांसद पद गुम्नेछ । सेतोपाटी डटकममा छापिएको छ ।