मस्कोबाट उडेको विमान ४ मिनेटमै दुर्घटना, ७१ जनाको मृत्यु

एजेन्सी, माघ २९ ।
मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि उडेको सारातोभ एयरलाइन्सको विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमा दुर्घटनाग्रस्त भएको छ । विमानमा रहेका ६ जना चालक दलका सदस्यसहित सवै ७१ जना यात्रुको मृत्यु भएको रसियाली अधिकारीले जनाएका छन् । विमान रसियाको राजधानी मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट रसियाकै पश्चिमी ओरेन्वर्ग क्षेत्रको ओस्र्कका लागि उडेको थियो ।
एन्टोनोभ एएन–१४८ विमान दिनको २ः२७ मा मस्कोबाट उडेको तर मात्र ४ मिनेटपछि नै दुर्घटनामा परेको एयरलाइन्सका अधिकारीहरुले जनाएका छन् । विमान राजधानी मस्कोबाट करिब ८० किलोमिटर दक्षिण पूर्वमा पर्ने अर्गुनोभो गाउँमा दुर्घटना भएको छ । हिउँले ढाकेको दुर्घटनास्थलमा यात्रुका शब क्षतविक्षत अवस्थामा रहेको र निकै परपरसम्म विमानका टुक्राहरु फेला पारिएको छ । रसियाली यातायात मन्त्रालयले विमान दुर्घटनाको कारणबारे अहिले नै यकिन भन्न सकिने अवस्था नरहेको तर खराब मौसम वा प्राविधिक कमजोरी नै प्रमुख कारण रहेको आशंका गरेको छ ।
रसियाली छानविन समितिले दुर्घटनाको कारण अध्ययन गरी प्रशासनलाई प्रतिवेदन बुझाउन काम शुरु गरिसकेको बताएको छ । रसियाली यातायात मन्त्री माक्सिम सोकोलोभ घटनाबारे बुझ्न र मृतकका आफन्तलाई सान्त्वना दिन दुर्घटनास्थलतर्फ पुगेका छन् । उता रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका आफन्तप्रति समवेदना प्रकट गरेका छन् । उनले घटनाको छानबिन गर्नसमेत निर्देशन दिएका छन् ।