मर्यादाक्रम विवादले कांग्रेसमा बबाल मच्चियो (किन भयो विवाद?)
काठमाण्डौं, चैत ११ ।
मर्यादाक्रमलाई कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा शीर्ष नेताहरुबीच बाझाबाझ भएको छ । नेताहरुबीच भएको वादविवादमा पार्टी सभापति शेरबहादुर देउवा आफैं पनि सहभागी भए । देउवाले कुर्सीबाट उठेर पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई ‘किन धेरै बोलेको ? छलफल हुँदैछ त’ भनेका थिए । नेताहरुले भने सभापति देउवाले धर्यता गुमाएको प्रतिक्रिया दिएका छन् ।
चुनाव समिक्षाका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा ज्ञानेन्द्रबहादुर कार्कीले नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता रामचन्द्र पौडेलपछिको मर्यादाक्रममा राख्ने प्रस्ताव पेश गरे । कांग्रेस र प्रजातान्त्रिक एकता हुँदा पौडेलपछि भएकाले उनलाई यो वरियता दिनु पर्ने कार्कीको तर्क थियो । अरु नेताहरुको मर्यादाक्रम भने विस्तारै निर्धारण गर्दै जाने उनको प्रस्ताव थियो । कार्कीले प्रतिवेदन बाचन गर्नु अघि नै श्रेष्ठको कुर्सी मर्यादाक्रमअनुसार मिलाइसकिएको थियो ।
तर, नेता प्रकाशमान सिंहले विरोध गरे । सबै नेताको मर्यादाक्रम तोकेर मात्र प्रस्ताव ल्याउनुपर्ने र केन्द्रीय कार्यसमितिले पास गरेपछि मात्र लागू गर्नु पर्ने उनको माग थियो । उनलाई बलबहादुर केसीले समर्थन गरे । तर, देउवा पक्षका महेन्द्र यादवले ‘सुशील कोइरालाको पालामा हामीले भनेको सुन्नभो’ भन्दै प्रतिवाद गरेपछि होहल्ला भयो । नेताहरुले वादविवाद गरिरहँदा देउवा सभापतिको आसनबाट उठेर सिंहतर्फ संकेत गर्दै ‘किन धेरै बोलेको ? छलफल हुँदैछ त’ भनेको एक नेताले सुनाए । सभापति नै विवादमा उत्रिएपछि नेताहरुले एकअर्कालाई सम्झाएका थिए ।
एक नेताले भने, ‘नेताहरुबीच विवाद हुनु त स्वभाविक मान्न सकिएला तर, सभापति आफैं कुर्सीबाट उठेर विवाद गर्दा निकै नमज्जा लाग्यो ।’ कांग्रेसमा लामो समयदेखि मर्यादाक्रमको विवाद छ । आफ्नो मर्यादाक्रम नमिलेको भन्दै गोपालमान श्रेष्ठले बैठकमा उपस्थिति जनाउन हस्ताक्षर समेत गर्न छाडेका थिए । उनी पछिल्लो लाइनमा आएर बस्ने गरेका थिए । डा. रामशरण महत लगायतका नेताहरुले पनि मर्यादा क्रमप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।