मरेको बाख्रामा पनि कर !

विर्तामोड, भदौ २ ।
बिमा गरेको बाख्रा मरेपछि सिफारिसका लागि झापाको गौरादह नगरपालिका–१ का अमृत कटुवाल वडा कार्यालय पुगे। बिमा सुविधा पाउनका लागि उनले सिफारिस लिनु थियो । तर, सिफारिस बनाउँदा २ सय ५० रुपैयाँ कर वडा कार्यालयले लिएपछि उनी आश्चर्यचकित परे ।

‘बाख्रा मरेर पीडामा छु’, उनले भने, ‘केही रकम बिमाबाट आउला कि भनेर सिफारिस बनाउन आएको त उल्टै यत्रो रकम करका नाममा तिर्नुप¥यो ।’ नगरपालिकाले मरेको पशुको सिफारिसदेखि जिउँदो पशु बिक्री र कृषिजन्य सामग्री सबैमा चर्को कर लगाएपछि स्थानीय आक्रोशित बनेका छन् । ‘करले गर्दा अब नागरिकको जीवन कसरीमाथि आउला ? ’, गौरादह–३ का याम बुढाथोकीले प्रश्न गरे ।

करजति खेतीकिसानी गरेर जीविकोपार्जन गर्नेको थाप्लोमा हालेको उनको गुनासो छ । अर्जुनधारा नगरपालिकाले पनि किसानको ढाड सेक्ने गरी कर लगाएको गुनासो स्थानीयले गरेका छन् । नगरपालिकाले हटियामा बिक्रीका लागि किसानले ल्याएको कुखुरादेखि मकैको च्याख्लासम्ममा कर लगाएको छ ।

स्थानीयले अब हटियामा गएर बिक्री गरेका प्रत्येक कृषिजन्य वस्तुको कर तिर्नुपर्ने भएको छ । कुखुरामा तीन, परेवामा दुई, बाख्रामा सात, पाठामा सात, गाईगोरुमा १० रुपैयाँ कर तोकिएको छ । यसरी ससाना कृषिजन्य वस्तुमा पनि कर लगाइएपछि नगरपालिकाको नीतिप्रति स्थानीय आक्रोशित भएका छन् ।–अन्नपूर्ण पोष्ट