मन्त्री हेरफेर होहल्लाः बादललाई रक्षा–ईश्वरलाई गृह, मात्रृका आउट–जनार्दन ईन !

काठमाण्डौं, भदौ १९ ।
प्रधानमन्त्री केपी ओलीले केही मन्त्रीको बर्खास्ती र केहीको जिम्मेवारी हेरफेरको तयारी गरेका छन् । श्रोतका अनुसार प्रधानमन्त्रीकै सचिवालयबाट मन्त्री हेरफेरका कुरा बाहिर आएको हो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई हवला दिँदै काठमाण्डौं टुडेले समाचार छापेको छ ।

तोकिएको जिम्मेवारी बेगरमा त्यस्ता विवादास्पद काम नगर्न प्रधानमन्त्री ओली स्वयंले केहीपटक चेतावनी दिए पनि रिमालले कार्यशैलीमा परिवर्तन गरेका छैनन् । पछिल्लोपटक गृहमन्त्री रामबहादुर थापा बादललाई रक्षामा सरुवा गरेर रक्षाबाट ईश्वर पोखरेललाई गृहमा ल्याउने तयारीमा प्रधानमन्त्री रहेको हल्ला चलाइरहेका छन् उनै रिमालले ।

प्रधानमन्त्री ओलिले पनि मन्त्रीले विगारेका काममा धेरै जवाफ दिनुपरेको भन्दै एक्सनमा उत्रिने चेतावनी दिएका थिए । प्रधानमन्त्रीको चेतावनी र रिमालको हल्लाका बीचमा तादात्म्यता भएपनि तत्काल मन्त्रीको जिम्मेवारी हेरफेर हुने सम्भावना नरहेको नेकपामा एक शीर्ष नेताले बताए । उता पहिला अर्थ र पछि परराष्ट्र मन्त्रालय दिने आश्वासन दिएर पनि अन्तिममा रक्षामन्त्री बनाईएका ईश्वर पोखरेललाई म्यानेज गर्न लागिएको बुझिएको छ ।

यस्तै कालीमाटी र बल्खुस्थित तरकारी बजारमा अनुगमन गरेर जथाभावी स्टल भाडा असुल्दै आएका बिचौलिया व्यापारीलाई ठेगान लगाएर चर्चा र स्याबासी पाएका उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई बर्खास्त गर्ने तयारी भैरहेको होहल्ला पनि सुरु भएको छ । मातृका हाल दक्षिण छिमेकी भारतको भ्रमणमा छन् ।