मन्त्री र सांसदलाई सँधै गिज्याउने प्रदेशसभा भित्रको सडक !

प्रकाश ढकाल
पोखरा, भदौ १९ ।
पोखरामा रहेको गण्डकी प्रदेशसभा भवन तत्कालीन नगर विकास प्रशिक्षण केन्द्रको हो । केन्द्रले आफ्नो हिसावले चलाउँदै आएको भवनलाई सामान्य मर्मतसम्भार गरेर प्रदेशसभाले प्रयोग गरेको थियो । भवन चुहिने थिए, त्यसलाई टाल्यो । भित्ता खुईलिएका थिए, त्यसलाई पनि रंगिन बनायो । भवनभित्र छिरेपछि जताततै रातो कार्पेट विछ्याईएको छ ।तर प्रदेशसभा भवन जाने बाटो दयालाग्दो छ । प्रदेशसभा सुरु भएको ७ महिना वितिसक्दा समेत बाटो मर्मत भैसकेको छैन । ग्राभेलिङ बाटोलाई पीच गर्नका लागि गएको जेठमै टेण्डर निकोर ठेक्का लगाईएको थियो । असार ३ गते ठेक्का लिएको ठेकेदार कम्पनीले हालसम्म काम सकेको छैन । ‘२ महिनाका लागि ठेक्का दिईएको हो । साढे २ महिना भैसक्यो बल्ल आधाआधि काम सकिएको छ, प्रदेशसभाका लेखापाल दुर्योधन गिरीले भने–अहिले म्याद थपका लागि निवेदन आएको छ । अव म्याद थप हुन्छ ।’ भदौ ३ भित्रै काम सक्नुपर्ने ठेकेदारले बर्खाको कारण देखाएर निर्माणमा आलटाल गरिरहेको छ । ७९ लाख रुपैयाँ स्टिमेट गरेर टेण्डर निकालिएकोमा पोखरा २६ को निम्बल कन्स्ट्रक्सन कम्पनीले ४१ प्रतिशत घटेर ४५ लाख २० हजार रुपैयाँमा ठेक्का लिएको हो । दुईतिर नाला निर्माण र पीच गर्ने कामको जिम्मा लिएको कम्पनीले न पीचको काम सकेको छ न त नाला निर्माण नै सकेको छ ।दिनहुँजसो बैठकमा ओहोरदोहोर गर्ने मन्त्री र सांसदहरुले सडक निर्माणका लागि ताकेता समेत गर्न सकेका छैनन् । प्रदेशभित्रका सडकमा ठेकेदारले गरेका लापरबाही दिनहूँजसो उठाउने सांसदहरु आफ्नै अगाडीको सडकमा भने मौन छन् । सोमबारको प्रदेशसभा बैठकमा काँग्रेसका कृष्णचन्द्र नेपालीले सडकले सांसदलाई गिज्याएको बताए ।

‘बाटामा गिटी थुपारिएको छ । सांसद हिड्ने बाटो छैन, उनले भने–सार्वजनिक सडक बनाएको हैन नि । प्रदेशसभाभित्रको हातामा जुन हिसावले काम भैरहेको छ । यसलाई युद्ध स्तरमा निर्माण गरियोस् । रातारात यसलाई पूर्ण गर्न माग गर्दछु ।’ दिनहुँजसो सांसदहरुले नाक छोप्दै हिड्ने प्रदेशसभा भित्रकै सडक समयमा पूरा नभएको प्रति धेरैको गुनासो छ ।