मन्त्री अधिकारीको दवावमा अध्ययनबिनै काभ्रे विमानस्थललाई २५ करोड

काठमाण्डौं, भदौ १४ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको दबाबमा नेपाल नागरिक उड्डयन प्राधिकरणले काभ्रेको नागिडाँडामा निर्माण गर्न लागिएको आन्तरिक विमानस्थलका लागि नियम विपरित २५ करोड रुपैयाँ विनियोजन गरेको छ । प्राधिकरणले विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अधिकरण र मुआब्जा वितरणका लागि भन्दै २५ करोड रुपैयाँ विनियोजन गरेको हो ।

प्राधिकरणले विमानस्थल निर्माणका लागि विनियोजन गरेको रकम प्राधिकरण बोर्ड बैठकबाट पारित भइसकेको छ । तर, प्राधिकरणको आर्थिक वर्ष २०७५–७६ को नीति तथा कार्यक्रम र बजेटमा विस्तुत अध्ययन नभएको र वातावरणीय प्रभाव मुल्यांकन नभएका आयोजनालाई बजेट विनियोजन नगरिने उल्लेख गरेको छ । त्यति मात्र होइन, केपी ओली सरकारका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले गत चैतमा श्वेतपत्र सार्वजनिक गर्दा विस्तृत अध्ययन नभएका र वातावणीय प्रभाव मुल्यांकन समेत नभएका आयोजनालाई रकम विनियोजन नगर्ने बताएका थिए ।

त्यसपछि पनि राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाखमा संसदमा प्रस्तुत गरेको आव २०७५–०७६ को नीति तथा कार्यक्रममा समेत विस्तृत अध्ययन नभएको आयोजनालाई बजेट विनियोजन नगर्ने उल्लेख गरिएको थियो । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले प्राधिकरणले आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय अध्ययनका लागि भन्दै एक करोड रुपैयाँ विनियोजन गर्न लागेको अवस्थामा सिधै हस्तक्षेप गरेर २५ करोड रुपैयाँ विनियोजन गर्न निर्देशन दिएका थिए ।

प्राधिकरणका एक उच्च कर्मचारीले मन्त्री र मन्त्रालयको दवाब पछि २५ करोड रुपैयाँ विनियोजन स्विकार गरेका छन् । प्राधिकरणले भाद्र ३ गते आयोजना गरेको बजेट अन्तक्रिया कार्यक्रममा समेत पत्रकारहरुले नागिडाँडा विमानस्थलको लागि विनियोजित भएको रकमको विषयमा प्रश्न राखेका थिए । पत्रकारको प्रश्नमा प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले मन्त्रालयको निर्देशन पछि विमानस्थल निर्माणका लागि २५ करोड रुपैयाँ रकम विनियोजन भएको बताएका थिए । तर, प्राधिकरणले विमानस्थल निर्माण सम्भावता अध्ययन गरेर मात्रै आवश्यक जग्गाको मुआब्जा रकम वितरण गर्ने गौतमले बताएका थिए । –नेपाललाईभ