मन्त्रीलाई शिलान्यास मोह–कास्कीमा महिनादिनमा एउटै पुल दुई पटक शिलान्यास

पोखरा, पुस १० ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ बाट बग्ने आपाखोलामा पुल निर्माणको काम भैरहेको छ । अघिल्लो महिना स्थानीय अगुवा रामहरी गुरुङले पुल शिलान्यास गरेपछि निर्माणको काम सुरु भएको हो । शिलान्यासपछि पुल निर्माण गर्ने ठाउँ सम्याउने काम भैरहेको थियो ।

तर त्यही पुल गएको शनिबार यूवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले धुमधामका साथ पुनः शिलान्यास गरे । ल्वाङ र कुइवाङ गाउँ जोड्ने पुल मन्त्रीबाट शिलान्यास गराउन गाउँपालिकाले समन्वय गरेको थियो ।

सडक डिभिजन कार्यालय पोखराले ठेक्का दिएको पुलको २ मंसिरमा स्थानीयको अग्रसरतामा शिलान्यास भएपछि सोही दिनदेखि निर्माण कार्य सुरु भएको थियो । तर, शनिबार मन्त्री विश्वकर्माले काठमाडौंबाटै आएर सोही पुलको पुनः शिलान्यास गरे । स्थानीयले एउटै पुलको दुईपटक शिलान्यास गलत भएको भन्दै विरोधसमेत जनाएका थिए ।

मन्त्री विश्वकर्माले भने औपचारिकता दिन आफू कार्यक्रममा सहभागी भएको बताए । उनले गुणस्तरीय काम गर्दै समयमै निर्माण सक्न ठेकेदार कम्पनीलाई निर्देशन पनि दिए ।

पुल निर्माणका लागि पाँच करोड चार लाखमा टेन्डरमार्फत मृत सञ्जीवनी निर्माण सेवाले जिम्मा लिएको छ । सडक डिभिजन पोखराका ईन्जिनियर उज्जल शर्माका अनुसार २५ मिटर लामो र ११ मिटर चौडा हुनेछ । १८ महिनामा सम्पन्न गर्ने सम्झौता भएको छ ।

असारमा टेण्डर पारे पनि खोलामा पानीको बहाव धेरै भएकाले निर्माण कम्पनीले काम सुरु गर्न सकेको थिएन । दशैतिहारपछि निमार्ण सुरु गर्ने ठेकेदार कम्पनीले योजना बनाएको थियो । तर स्थानीयले साइत हेर्दा २ मंसिर उपयुक्त हुने जनाएपछि सोही दिन शिलान्यस गरिएको थियो ।