मन्त्रीको अन्तरबार्ता लिएपछि १२ बर्षदेखि चल्दै आएको कार्यक्रम बन्द

पोखरा, जेठ ३० ।
नेपाल टेलिभिजनमा विगत १२ बर्षदेखि सञ्चालन हुँदै आएको कार्यक्रम ‘सीधा प्रश्न’ बन्द भएको छ । प्रस्तोता राजु थापाले सञ्चालन गर्दै आएको कार्यक्रम सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल प्रसाद वास्कोटाको प्रत्यक्ष निर्देशनमा बन्द भएको भन्दै नेपाल प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्ती जारी गरि युनियनले नेपालमा कम्युनिष्ट पार्टी नेतृत्वको शासन शुरु भएयता प्रश्न गर्ने अधिकार कुण्ठित हुँदै गएको गुनासो गरेको छ ।

‘पत्रकार समेत रहेका मन्त्री वास्कोटाको यो कृत्य सरकार, सत्ता र यसका कार्यकारीहरुमाथि प्रश्न उठाउने हैन भन्ने निरंकुश मनसायबाट प्रेरित भएर आएको छ । हामीमाथि प्रश्न उठाउनेहरु सरकारी कोपभाजनमा पर्न तयार हौं भन्ने सन्देश दिने किसिमको निरंकुश शैली मन्त्री वास्कोटाबाट प्रकट भएको छ, विज्ञप्तीमा भनिएको छ–लोकतन्त्रमा हरेक नागरिकले राज्यका जिम्मेवारलाई प्रश्न सोध्ने हैसियत राख्छ भन्ने न्युनतम ज्ञान समेत बास्कोटासँग रहेन । यो घटनाले सरकारको नियत उदागिंएको छ ।’

सरकार नियन्त्रित नेपाल टेलिभिजनमा केही लोकप्रिय कार्यक्रम मध्ये रहेको कार्यक्रम ’सिधा प्रश्न’ प्रत्येक शनिवार राती ८ः४५ मा प्रसारण हुँदै आएको थियो । नेपाल टेलिभिजनका समाचार प्रमुखले थापालाई ’सिधा प्रश्न’ कार्यक्रम अब प्रसारण नुहने जानकारी मंगलवार गराएका थिए । मन्त्री वास्कोटासँग लिएको अन्तर्वार्ता पछि आफ्नो कार्यक्रम बन्द गर्ने आदेश आएको थापाले जनाएका छन् ।
’सिधा प्रश्न’ मा सम्पति विवरणका बारेमा प्रश्न उत्तर हुने क्रममा मन्त्री वास्कोटा कार्यक्रम प्रस्तोता थापासँग रिसाएका थिए । सम्पति विवरणमा दाइजो सम्वन्धि प्रसङगमा अझ रिसाएका मन्त्री वास्कोटाले आफ्नो झुट समात्ने प्रस्तोता थापालाई टेलिभिजनबाटै हटाउन निर्देशन दिएपछि नेपाल टेलिभिजनका समाचार प्रमुखले थापालाई अब कार्यक्रम प्रसारण नुहने जानकारी दिएका विज्ञप्तीमा जनाईएको छ ।

युनियनले तत्कालै कार्यक्रम सुचारु गर्न माग समेत गरेको छ । आगामी दिनमा सञ्चारकर्मीलाई स्वतन्त्र र भयरहित वातावरणमा सञ्चारकर्म गर्न पाउने वातावरण मिलाउन नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा मन्त्रालय र सरोकारवाला निकायसँग युनियनको माग छ ।