मनिपाल अस्पताल फेरी ठप्प, कर्मचारी–प्रशासनको सँधै किचलो

प्रकाश ढकाल
पोखरा, जेठ ९ ।
कर्मचारी आन्दोलनमा उत्रिएपछि पोखराको मनिपाल शिक्षण अस्पतालमा ईमरजेन्सी बाहेकका अरु सेवा ठप्प छ । अस्पतालको आचारसंहिता विपरित काम गरेको भन्दै प्रशासनले बैशाख ४ गते ४ कर्मचारीलाई जागिरबाट हटाएपछि कर्मचारी चाहीँ मोर्चाबन्दी गरेर हटतालमा उत्रिएका छन् । अस्पतालको फार्मेसीमा काम गर्ने रमेश बोहरा, उनकी श्रीमति हेलेन पन्त, निलकण्ठ भट्टराई, टेकबहादुर विक, उनकी श्रीमति मञ्जु विक र लेखा शाखामा काम गरिरहेकी अल्पना ठाकुरलाई प्रशासनमा जानकारी नदिई कम्पनी खोलेर औषधी ब्यापार गरेको आरोप छ । बोहराकी श्रीमति हेलेन चाहीँ मनिपालकी कर्मचारी होईनन् । उनैलाई देखाएर कर्मचारीले ब्यापार गरेको अस्पतालले जनाएको छ ।

‘पहिले पनि कहिलेकाहीँ सुनिएको हो । खासै चासो दिईएन, अस्पतालको प्रशासन प्रमुख भानु भारध्वजले भने–धेरै नै गुनासो आएपछि स्पेसल कमिटी बनाएर अनुसन्धान ग¥यौं । वहाँहरुले अरु पनि ब्यक्तिहरुसँग मिलेर कम्पनी खोल्नुभएको थाहा भयो ।’ कर्मचारी भएर अस्पतालमै नोक्सान हुने गतिविधि मान्य नहुने उनी बताउँछन् । ‘गलत मनसायले काम गर्ने कसैलाई पनि अस्पतालले छुट दिँदैन । आन्दोलनको भरमा पुनर्वहाली हुने आस नगरे हुन्छ, उनले थपे–आफ्ना ब्यक्तिगत स्वार्थका लागि हजारौं विरामीको स्वास्थ्यमाथी खेलवाड गर्न पाईँदैन । यो सरासर कानुन विपरित काम भैरहेको छ ।’

कर्मचारीहरु मिलेर २०१० सालमा नै एनआरटी मेडिसेल्स र एनआरटी सर्जिकल गरी दुईवटा कम्पनी चलाएको भेटिएको छ ।

अस्पतालमै काम गर्ने कर्मचारीले सिण्डिकेटलाई बढवा दिने गरी फार्मेसी चलाएको उनको आरोप छ । प्रतिवेदनका अनुसार निष्कासनमा परेका कर्मचारीहरु मिलेर २०१० सालमा नै एनआरटी मेडिसेल्स र एनआरटी सर्जिकल गरी दुईवटा कम्पनी चलाएको भेटिएको छ । गलत काम गरेको प्रतिवेदन पाएपछि मनिपालले दुईवटै कम्पनीलाई ब्ल्याक लिष्टमा राखेर कर्मचारीलाई जागिरबाट हटायो ।

मनिपालमा औषधी दिने २५ वटा सप्लायर्स छन् । तर कर्मचारीले चलाएका २ वटा कम्पनीले अरुलाई निषेध गरेर आफ्नो ब्यापार बढाएको अस्पताल प्रशासन बताउँछ । बार्षिक २० करोड हाराहारीमा औषधी कारोबार हुने मनिपालको फार्मेसीबाट उपचार सामग्री किन्दा बजारभाउ भन्दा ५ देखि २० प्रतिशतसम्म बढी मूल्य तिर्नुपरेको गुनासो विरामीहरुको छ । तर नियमक निकायले ध्यान नदिँदा उपभोक्ताहरु दिनहुँ ठगिने क्रम बढ्दो छ ।

औषधी सप्लाईको जिम्मा लिएका रमेश बोहराले चाहीँ कम्पनी अनुसार मूल्य फरक पर्ने सुनाए । सरकारी अस्पतालमा सस्तोमा औषधी ल्याउन टेण्डर हुन्छ । मनिपालमा महंगो कम्पनीको औषधी ल्याईन्छ भन्छन्–सस्तोमा पाईने औषधीमा गुणस्तर हुँदैन । हामीले बेच्ने औषधी गुणस्तरीय हुन्छ । त्यसैले महंगो परेको हो ।’ तर बोहराले भनेजस्तो एउटै कम्पनी र उस्तै प्रकृतिको औषधीमा पनि मूल्य एउटै छैन । माग गर्ने र सप्लाई गर्ने एउटै कम्पनी भएकोले विरामीले महंगो औषधी र उपकरण प्रयोग गर्न बाध्य भएको अस्पतालका डाईरेक्टर बिजय सिंघेले बताए ।

कर्मचारीहरुले अस्पतालभित्रको फार्मेसीको आन्तरिक कुरा बाहिर लगेको र फार्मेसीमा सिण्डिकेट लादेपछि बाध्य भएर कर्मचारी हटाउनुपरेको उनको भनाई छ । ‘साथीहरु आन्दोलन गर्न लाग्नुभएको छ भन्ने सुनेको छु । फाईदा हुँदासम्म मनलाग्दी गर्ने अनि अनियमित काम गर्न नपाएपछि ट्रेड युनियनको साहारा माग्ने कस्तो चलन हो, उनी भन्छन्–हरेक ठाउँमा ट्रेड युनियनको महत्व हुन्छ । गलत कामको लागि युनियन पनि सतर्क रहन्छ भन्ने हाम्रो अपेक्षा छ ।’ रचनात्मक सुझाव दिन युनियनसँग उनले आग्रह गरे ।

कर्मचारीहरुको आन्दोलनलाई अखिल नेपाल स्वास्थ्य श्रमिक संघ मणिपाल, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मणिपाल र मणिपाल स्वतन्त्र कर्मचारी युनियनले समर्थन जनाएको छ । अस्पताल पक्षले कर्मचारी माथि ज्यादती गरेको भन्दै बर्खास्त गरिएका कर्मचारीलाई तुरुन्तै पुनःबहालीको माग गर्दै संयुक्त आन्दोलनको घोषणा गरिएको हो । सोमबारदेखि अनिश्चित कालका लागि आन्दोलन चलेको आन्दोलनकारी कर्मचारीहरुले बताए ।

‘हामीले ५ बुँदे मागपत्र प्रशासनलाई दिएका छौं । सबै माग पूरा भएपछि आन्दोलन स्वतः सकिन्छ, आन्दोलनको नेतृत्व गरिरहेका निष्कासित कर्मचारी रमेश बोहरा भन्छन्–विना कारण हामीलाई जागिरबाट हटाईयो । अस्पतालले नेपाली कर्मचारीमाथी शोषण गरेको छ । यसको विरुद्धमा नेपाल सरकार पनि मौन बसेको छ ।’ एउटै पदमा काम गर्ने भारतीय कर्मचारीलाई महंगो तलव सुविधा दिने र नेपालीलाई निकै कम मूल्य दिएर श्रममा लगाईएको उनको आरोप छ । कर्मचारीहरुले सोमबार पत्रकार सम्मेलन गरी आन्दोलनबारे जानकारी गराएका हुन् ।

यसबाहेक श्रम ऐन अनुसार बेसिकको १० प्रतिशत सुविधा तत्काल उपलब्ध हुनुपर्ने, खटाईएका ईन्चार्जहरुलाई लिखित नियुक्ति सहित थप सुविधा दिनुपर्ने, १८० दिन विदा संचित गरिनुपर्ने, अस्थायी कर्मचारीलाई तुरुन्त स्थायी गर्नुपर्ने लगायतका माग पनि छन् । मागपत्रमा अखिल नेपाल स्वास्थ्य श्रमिक संघका कार्यबाहक अध्यक्ष विरेन्द्रकुमार यादव, मनिपाल स्वतन्त्र कर्मचारी युनियनका कार्यबाहक अध्यक्ष नवराज भण्डारी र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष अमृतबाबु पौडेलले हस्ताक्षर गरेका छन् ।

मनिपालमा नन टिचिङ ६ सय ५० र टिचिङ तर्फ १ सय ५० गरी ९ सय हाराहारीमा कर्मचारी कार्यरत छन् । अस्पतालमा दैनिक १ हजार हाराहारीमा विरामीहरु उपचारका लागि आउने गर्छन् ।

तलव सुविधाको माग सहित लामो समयदेखि यहाँका कर्मचारीहरु आन्दोलित छन् । पटक पटक झडप समेत हुँदै आएको छ । तर पूरानो आन्दोलन र कर्मचारी निष्कासन चाहीँ विल्कुल फरक विषय भएको अस्पतालले जनाएको छ । कर्मचारीहरुले चाहीँ प्रतिशोध साँधेर निष्कासन गरिएको आरोप लगाएका छन् । ‘मागका बिषयमा पटकपटक बार्ता भैरहेको थियो । तर बार्ताको निष्कर्ष नहेरी सिधै जागिरबाट हटाउनु जायज होईन, बोहराले थपे–प्रतिशोध साँध्ने गरी प्रशासन उत्रियो । यसको डटेर सामना गर्नेछौं ।’ मनिपालमा नन टिचिङ ६ सय ५० र टिचिङ तर्फ १ सय ५० गरी ९ सय हाराहारीमा कर्मचारी कार्यरत छन् । अस्पतालमा दैनिक १ हजार हाराहारीमा विरामीहरु उपचारका लागि आउने गर्छन् ।