मनिपालमा डाक्टर पढ्दै गरेकी बिद्यार्थी ट्रेकिङ जाँदा बेपत्ता

पोखरा, माघ २८ ।
पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एबिबिएस पढ्दै गरेकी बिपना उप्रेती ट्रेकिङबाट फर्किने क्रममा बेपत्ता भएकी छिन् । काठमाडौं महानगरपालिका–३ बसुन्धाराको स्थायी बासिन्दा उप्रेती ट्रेकिङबाट फर्कने क्रममा शनिबारदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ । उप्रेतीसहितको टोली बिहीबार कास्कीको मर्दी हिमाल क्षेत्रमा ट्रेकिङ गएको थियो । अन्य पाँच जना साथीसँग रहेकी उप्रेती फर्कने क्रममा माछापुच्छ्रे गाउँपालिकाको देउराली (तल्लो भ्यू प्वाईन्ट) स्थित बाटोमा तल खसेकी थिइन् ।
उनी करीब १ सय ५० मिटर तल खसेर बेपत्ता भएकी हुन् । बेपत्ता भएकी उप्रेतीको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उप्रेति एमबिबिएसको दोस्रो वर्षकी विद्यार्थी हुन् ।