मनिपालको समस्या सुल्झाउन प्रदेश सरकारको उच्चस्तरीय समिति

पोखरा, साउन २३ ।
मणिपाल शिक्षण अस्पतालको दीगो व्यवस्थापन गर्न गण्डकी प्रदेश सरकारले उच्च स्तरीय समिति गठन गरेको छ । मन्त्रीपरिषद्को बैठकले अस्पतालमा हुने समस्याप्रति चासो देखाएको हो । अस्पतालको चुस्त ब्यवस्थापनकै लागि पूर्व जिल्ला न्यायधिश लिप्तबहादुर थापाको संयोजकत्वमा समिति गठन गरिएको सरकारले जनाएको छ ।

समितिको सदस्यमा डा.अप्सरा कोइराला, डा.दिनेश विक, कमल प्रसाद अर्याल, योगराज पौडेल, कृष्णराज ढुंगाना, रमेश प्रसाद अधिकारी छन् । पटकपटक भईरहने आन्दोलनका कारण स्वास्थ्य सेवाबाट सर्वसाधारण बञ्चित हुनुपरेको भन्दै त्यस्ता समस्या तत्काल समाधान गरी स्वास्थ्य सेवा नियमित गर्न समिति गठन गरिएको सरकारका प्रबक्ता रामशरण बस्नेतले जानकारी दिए ।

‘विदेशी लगानीमा संचालित अस्पताल हो । कहिलेकाहीँ एकअर्का बीचमा कुरा मिल्दैन । कर्मचारी र प्रशासनको मनमुटावले विरामीले दुख पाउनुपरेको छ, उनले भने–अव यस्ता समस्या तत्काल समाधान हुन्छन् । विरामीले सास्ती भोग्नुपर्दैन ।’