मनाङ्गे भन्छन्–सर्वोच्चको फैसलाले अचम्ममा परेँ

काठमाडौं, माघ ३ ।
मनाङ प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले सर्वोच्च अदालतको फैसलाले आफू अचम्ममा परेको बताएका छन् । उनले आफू दोषी ठहर भएको फैसलाले आश्चर्यमा पारेको बताए । सर्वोच्चले मंगलबार ०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मुद्दामा मनाङेलाई पाँच वर्षको कैद सजाय गर्ने फैसलालाई सदर गरेको छ । ‘चक्रे मिलेनलाई खुकुरी प्रहार गरेको प्रकरणमा सामान्य कुटपिटको मुद्दा थियो’, मनाङेले भने, ‘मेरो हकमा पुनरावेदन नभई कसरी म दोषी ठहर भएँ होला र ?’
०६१ सालमा भएको घटनामा आफ्नो हकमा सरकारी वकिलले समेत पुनरावेदन नगरेको तर त्यसमा टेकेर सर्वोच्चले फैसला गरेको मनाङेले बताए । आफूले कानुन व्यवसायीसँग सल्लाह गरिरहेको उनको भनाइ छ । ‘यो नेपाल हो, यहाँ जे फैसला पनि हुन्छ’, मनाङेले भने । सर्वोच्चको फैसला मानेर जेल जाने कि नजाने भनी राखेको जिज्ञासामा उनले अहिलेसम्म मिडियामा हल्ला मात्र चलेको र अदालतको फैसला हेरेर निर्णय लिने बताए ।