मनाङेविरुद्ध सर्वोच्चमा पुनरावेदन मुद्दा दर्ता
काठमाडौं, माघ २९।
गैरकानुननी सम्पत्ति आर्जन गरेको अभियोगमा मनाङबाट प्रदेश सभामा निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङे) माथि सर्वोच्च अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पुनरावेदन भएको छ । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरेको मुद्दामा सफाइ दिएपछि सरकारले पुनरावेदन मुद्दा दर्ता गराइएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीले जानकारी दिए ।
केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सिआइबी) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा मनाङेको नाममा १४ करोडभन्दा बढीको सम्पत्ति देखिए पनि विशेषले सफाइ दिएको थियो । मनाङेले विशेष अदालतबाट ५ भदौमा सम्पत्ति शुद्धीकरण मुद्दाबाट सफाइ पाएका थिए । विशेष अदालतको फैसलाको पूर्णपाठ प्राप्त भएकाले उक्त फैसला त्रुटिपूर्ण रहेको उल्लेख गर्दै सर्वोच्चमा पुनरावेदन गरेको प्रवक्ता रेग्मीले बताए ।
आपराधिक गतिविधि गरेर अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा मनाङेको सम्पत्ति भने विभागले गरेको दाबीअनुसार नभएको ठहर विशेष अदालतले गरेको थियो । विशेषले त्यसवेला उनीसँगै श्रीमती पासाङ डोमा गुरुङलाई समेत सफाइ दिएको थियो । अभियोगपत्रमा मनाङेकी श्रीमतीका नाममा काठमाडौंमा करिब ३ रोपनी जग्गा र घर तथा नुवाकोटमा ७७ रोपनी १३ आना जग्गा रहेको, मनाङेको नाममा गोसाइँकुण्ड क्रसर, ओम मल्टिप्रपोज इच्छामाई र वेस्ट पोइन्ट ढुंगारोडामा गरी करिब ५० लाख सेयर लगानी दाबी गरिएको थियो । मनाङेका यी सबै लगानी आपराधिक गतिविधिबाट आर्जन गरेको दाबी आरोपपत्रमा गरिए पनि विशेषले त्यसलाई मान्यता नदिई फैसला सुनाएको थियो ।
अर्थ मन्त्रालय मातहत रहेको सम्पत्ति शुद्धीकरण विभागले ५ जना गुन्डा नाइकेको सम्पत्तिबारे अनुसन्धान गर्दै ५ जेठ २०७० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गुन्डा नाइकेको अवैध सम्पत्तिबारे अनुसन्धान गर्न र मुद्दा अदालतसम्म पु¥याउन ४ वर्ष लागेको थियो । मनाङेसहित गुन्डा नाइके मिलन चक्रे, गणेश लामा, परशुराम बस्नेत, अभिषेक गिरीलगायतलाई विशेष अदालतबाट गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा परेको मुद्दामा सफाइ दिएको थियो ।
अभियोग प्रमाणित हुन नसकेको भन्दै विशेषबाट सफाइ
सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त अनुसन्धानमा गणेश लामाको सम्पत्तिको लामो फेहरिस्त देखिएको थियो । लामाविरुद्ध २७.१ करोड रुपयाँ गैरकानुनी सम्पत्ति कमाएको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । लामा र उनको परिवारका नाममा विभिन्न कम्पनी, पेट्रोल पम्प र जग्गामा प्रशस्त लगानी रहेको देखिएको थियो । तर, विशेष अदालतले अभियोगको प्रमाण पुग्न नसकेको भन्दै सफाइ दिएको थियो । लामाको नाममा काठमाडौं, भक्तपुर र ललितपुरमा दुई सय पाँच रोपनी जग्गाका साथै २७ करोड अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो ।
परशुराम बस्नेतका सहयोगी मुकेश बस्नेतको नाममा मोरङमा ४२ रोपनी जग्गा, तीनवटा गाडी, एडजोन एडभर्टाइजिङ, पिआर हार्डवेयर, बगलामुखी बिल्र्डर्स, गजलक्ष्मी ट्रेड, मेरो ट्राभल्स, वेलकम पार्टी प्यालेस र टेकेन्द्र निर्माण सेवालगायतमा लगानीसहित ११ करोड अवैध सम्पत्ति रहेको अभियोग प्रमाणित हुन नसकेको भन्दै विशेष अदालतले सफाइ दिएको छ । चक्रे मिलनको नाममा काठमाडौंमा सात आना जग्गा र उनको परिवारका नाममा काठमाडौं र गोरखामा करिब ३० रोपनी जग्गा गरी सात करोड र अर्का गुन्डा नाइके गिरीको नाममा दुई करोड ९४ लाखको अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो ।