मनाङेको सपथ रोकियो, प्रतिपक्षीसँग आक्रोश

पोखरा, पुस २२ ।
सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका राजीव गुरुङ उर्फ दीपक मनाङेले सांसदको शपथ लिन दिएको निवेदन सभामुखले फिर्ता पठाईदिएका छन् । आइतबार प्रदेशसभाको कार्यब्यवस्था परामर्श समितिबाट सर्वसम्मत रुपमा शपथ नगराउने निर्णय गरेपछि सभामुख नेत्रनाथ अधिकारीले तत्काल सपथ गराउन नसक्ने निर्णय मनाङेलाई सुनाए । बैठकमा बोल्दै सभामुख नेत्रनाथ अधिकारीले उनलाई तत्काल सहभागी गराउन नसकिने बताएका हुन् ।

सर्वोच्चको आदेशमा थुनामुक्त भएपनि मुद्धा फैसला नभएकोले सपथ ग्रहणबारे अन्यौल सिर्जना भएको थियो । पुस ११ गते मनाङेले सपथका लागि निवेदन दिएका थिए । उनको निवेदन आएपछि पुस १४ गते कार्यब्यवस्था परामर्श समितिको बैठक पनि गणपुरक सदस्य संख्या नपुगेको भन्दै स्थगीत गरिएको थियो । सबैको राय बुझेपछि सभामुखले आइतबारको बैठकमा मनाङेको सपथ तत्काल गराउन नसकिने निर्णय सुनाए । गुण्डा नाइकेको रुपमा परिचित मनाङे तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।

मनाङेलाई जिताउनकै लागि एमालेले आफ्नो आधिकारिक उम्मेदवारलाई फिर्ता बोलाएको थियो । चुनाव जितेको बर्षदिन वितिसकेपनि हालसम्म उनले सांसदको हैसियत पाउन सकेका छैनन् । प्रदेशसभा सांसदको सपथ लिनुअघि नै उनलाई कर्तब्य ज्यान मुद्धामा अदालतले कारागार पठायो । नयाँ फौजदारी संहिता लागू भएपछि १० बर्षभन्दा कम सजायँ हुने मुद्धामा जेलबाहिरै बसेर मुद्धा लड्न पाउने ब्यवस्था गरेकोले सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश थिएको हो ।

प्रतिपक्षीमाथी मनाङेको आक्रोश

कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल पश्चात सभामुखले सपथ ग्रहण नगराउने निर्णय लिएपछि गुरुङले सांसदहरुले लोकतन्त्रको मान्यता नबुझेको आरोप लगाए । ‘पोखरा आउँदैछु । सोमबार म पनि हाउस जान्छु, डिएनएसँगको फोनबार्तामा उनले भने–प्रतिपक्षीले विरोध गरेको छ रे भन्ने सुनेको छु । उनीहरुलाई नलेज रहेनछ । आएर सिकाउँछु ।’ प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र नयाँशक्ति पार्टी प्रति उनले आक्रोश पोखे ।

सभामुखले मुख्य न्यायधिबक्तासँग सल्लाह गरेर निर्णय लिनुपर्नेमा पार्टीका सांसदसँग छलफल गर्नु नै गलत भएको उनी सुनाउँछन् । ‘कानुनभन्दा माथी कोही छैन । देशमा लोकतन्त्र आयो तर लोकतन्त्रको मतलव कसैलाई थाहा भएन, उनी अघि भन्छन्–प्रतिपक्षी भनेको सरकारले गरेको कमजोरी केलाउने हो । निहुँ खोज्ने त होईन नि ।’