मनाङेको सपथमा विपक्षीको विरोध, विशेष समय लिएर संसदमा बोल्ने

पोखरा, माघ १५ ।
मनाङ (ख) बाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेले निर्वाचन भएको १४ महिनापछि सोमबार प्रदेशसभा भवनमा सपथ लिएका छन् । सभामुख नेत्रनाथ अधिकारी समक्ष उनले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

तर अपराध नटुंगिएको मान्छेलाई सपथ गराएको भन्दै प्रदेशसभाका प्रतिपक्षी दलका सांसदहरुले चाहीँ विरोध गरे । हरेक पटकको बैठकमा उनीहरुले अदालतले फैसला नगरेसम्म सपथ गराउन नहुने बताउँदै आएका थिए । काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले यो सपथले सदनभित्र गलत नजिर बसेको प्रतिक्रिया दिए ।

‘यो बिषय विशुद्ध सभामुखको क्षेत्राधिकार भित्रको कुरा हो । तर वहाँको महत्वपूर्ण समिति कार्यब्यवस्थामा सबैले नगराउने सुझाव दिएको हो, उनले भने–राजनीति र नैतिकता हेरेर गलत नजिर बसाउन हुँदैनथ्यो । वहाँ राजनीतिक दवावमा पर्दा सदनको गरिमा कमजोर भएको छ ।’ मनाङेको सपथलाई लिएर प्रतिपक्षी तीनवटै दलले मंगलबारको सदनमा विशेष समय लिएर बोल्ने तयारी गरेका छन् ।

राष्ट्रिय जनमोर्चाका संसदीय नेता कृष्ण थापाले मनाङेको सपथले संघीयताको नराम्रो धज्जी उडेको बताए । ‘इतिहासको दोश्रो कलंकित काम हो । पहिलो काम संघमा भयो, उनले भने–सपथप्रति हाम्रो असहमति छ हाम्रो ।’ नयाँ शक्तिका संसदीय नेता हरिशरण आचार्यले पनि संसद बैठकमै विरोध गर्ने बताए ।

थुनामुक्त मात्रै भएको ब्यक्तिलाई सपथ गराउनु संसदीय मर्यादाभन्दा बाहिरको कुरा भएको उनको टिप्पणी छ । ‘कानुन मात्रै सबै कुरा हैन । राजनीतिक प्रश्न, कानुनी र नैतिकता तथा नजिरको प्रश्न महत्वपूर्ण हो, उनले भने–अपराधीलाई सपथ खुवाउने सभामुख आँफै कत्तिको चोखो हुनुहुन्छ यो ठूलो प्रश्न हो । यो घटनाले गण्डकी प्रदेशमा कम्युनिष्ट सरकारको अधोगति सुरु भयो । यसप्रति नयाँ शक्तिको घोर भत्र्सना छ ।’

सपथ खुवाउने बिषयमा सोमबार पनि कार्यब्यवस्था परामर्श समितिमा छलफल भएको थियो । बैठकमा सत्तारुढ दलले समर्थन गरेपनि विपक्षी दलले पूर्ण विरोध जनाएका थिए । सपथलाई लिएर केही बेर चर्काचर्की समेत भएको थियो ।

सभामखले चाहीँ कानुन अनुसार नै सपथ गराएको बताएका छन् । निर्वाचित भएको प्रमाणपत्र लिएर आएपछि सपथ रोक्न नमिल्ने उनको भनाई छ । तर एक महिना अघि पुस ११ गते मनाङेले सपथका लागि निवेदन दिएका बेला चाहीँ सभामुख अधिकारीले कानुन अनुसार सपथ गराउन नमिल्ने बताएका थिए ।