मनाङेको शपथबारे के हुँदैछ ? प्रदेशका सांसदहरु दुई कित्तामा

पोखरा, पुस २२ ।
सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएपछि शपथ ग्रहणका लागि निवेदन दिएका राजीव गुरुङ उर्फ दीपक मनाङेको शपथ अन्यौल भएको छ । उनको शपथ हुने वा नहुने भन्ने बिषयमा प्रदेशका सांसदहरु नै दुई कित्तामा विभाजित बनेका छन् ।

सत्ताधारी दलका सांसदहरु उनलाई शपथ गराउने पक्षमा छन् भने विपक्षी दल काँग्रेस सहितका अरु दल चाहीँ कुनैपनि हालतमा शपथ गराउन नहुने अडानमा छन् । राजनीतिक जीवनमा आउनुपूर्व ‘डन’ को छवि बनाएका मनाङे तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएका हुन् । निर्वाचन जिते पनि उनले सांसदको हैसियत अहिलेसम्म पाएका छैनन् । शपथ लिनुअघि नै उनी कारागार चलान भए ।

मनाङेको निवेदनका विषयमा दलहरूले आधिकारिक धारणा सार्वजनिक नगरे पनि सांसदको धारणा भने फरकफरक छ । संसद्को सबैभन्दा ठूलो दल नेकपा संसदीय दलको बैठक बसेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि यसबारे आधिकारिक धारणा बनाएको छैन् । तर, प्रदेशसभा सदस्यहरूले भने उनको शपथ निवेदनलाई लिएर आआफ्नो धारणा बनाएका छन् । नेकपाका सचेतक मायानाथ अधिकारीले भने, ‘नेकपा संसदीय दलको बैठक बसेको छैन्, केही आधिकारिक धारणा पनि बनेको छैन् ।

यो कानुनी विषय हो तर राजनीतिक रुपले हेर्दाचाहिँ निर्वाचन जितेर प्रमाणपत्र लिइसकेको व्यक्तिले शपथ गर्न पाउनुपर्छ ।’ कार्यव्यवस्था समितिका सदस्यसमेत रहेका अधिकारीले थपे, ‘कानुनी रुपले शपथ गराउन मिल्ने भए सभामुखले गराउनुहुन्छ, नमिल्ने भए गराउनुहुन्न, हामीले सल्लाह दिने हो, हेरौं सभामुखले के गर्नुहुन्छ ।’

काँग्रेस सांसद कुमार खड्का चाहीँ अदालतले अपराधी भनेर सजाएँ भोगिरहेको ब्यक्तिलाई सांसदको शपथ गराउँदा संसदीय ब्यवस्थाकै खिल्ली उडाए सरह हुने बताए । ‘अदालतले निर्दोष भनेर निर्णय सुनाएको छैन । त्यस्तो मान्छेलाई कसरी शपथ खुवाउन सकिन्छ ?, उनले भने–अदालतको पुर्जी नआउँदासम्म शपथ गराउनु हुन्न ।’