मनाङको पुल दक्षिण एसियामै अग्लो (फोटोमा हेर्नुस्)

नवीन लामिछाने
मनाङ, भदौ १९ ।
मनाङको ड्रोना खोलामा निर्माण गरिएको पुल दक्षिण एसियाकै अग्लो भएको प्राविधिकहरुले दावी गरेका छन् । २०७२ सालमा निर्माण भएको पुल विश्वकै पाँचौ नम्बरमा पर्छ । खोलाको पानीको सतह देखी ४ सय १२ मिटर उचाईमा रहेको पुल १ सय ३५ मिटर लामो छ । केहीदिन अघि नाशोङ गाउँपालिकाका प्राविधिकहरुले नापजाँच गरेका हुन् । गाउँपालिकाका इन्जीनियर सुभास पान्डेय लगायतका टोलिले पुलको वास्तविक उचाई पत्ता लगाएको हो । पुल निर्माण गरिएपनि बास्तविक उचाई सार्वजनिक भएको थिएन । हालसम्म विश्वको तथ्यांक हेर्दा सबैभन्दा अग्लो पुल चीनमा छ । चीनको डुङ्गे व्रिज ५ सय ६५ मिटर अग्लो छ । त्यस्तै, चीनकै सिदु पुल ४ सय ९६, पुल्ली पुल ४ सय ८५, एची पुल ४ सय ३४ मिटर अग्लो छ । त्यसपछि नेपालमा रहेको पुल नै अग्लो भएको दावी स्थानीयहरुको छ ।
हाल सम्ममा नेपालको अग्लो झोलुङ्गे पुल भनेर चिनीएको पर्वत कुस्माको पुलको उचाई जम्मा १ सय ६६ मिटर छ । ‘हामीले प्राविधिक हिसावले नै नापजाँच गरेका हौं । पुलको वास्तविक उचाई ४ सय १२ मिटर छ, इञ्जिनियर सुभास पाण्डेयले भने–अव यसको प्रचार देशभरी गर्नुपर्छ । यसले पनि मनाङको पर्यटन बढाउन सहयोग गर्छ ।’ नाशोङ गाउँपालिका वडा नम्बर २ नाचे गाउँ र वडा नम्बर ८ को थोंचे गाउँ जोड्न बनाईएको तम्राङ पुल नेपालमा मात्रै होईन दक्षिण एसियाकै अग्लो देखिएको हो ।
‘हामीलाई हाम्रो सम्पत्ति नै थाहा भएन । नत्र पहिले नै प्रचार गरिसक्थ्यौं, नाशोङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भीमबहादुर गुरुङले भने–विकट जिल्ला र अशिक्षाका कारणले पनि पछि परिरहेका छौं ।’ मोटरबाटो नभएकोले गाउँलेलाई हिडडुल गर्न ४ बर्षअघि पुल बनाईएको हो । मनास्लु पदमार्गमा पर्ने झोलुङ्गे पुल लार्के पास र भोटामा नुन लिन जाने पुरानो बाटो हो । खोलामा पुल नहुदा धेरै सास्ती ब्यहोरेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए । उनले पुललाई सम्पदाको रुपमा स्थापित गरिदिन सरकारसँग आग्रह गरेका छन् । ‘तिलिचो तालजस्तो यो पुल पनि हामी विश्वमा चिनाउन चाहान्छौं । सरकारसँग मेरो आग्रह छ, यसको प्रचार गरिदियोस्, उनी भन्छन्–गाउँपालिकाले पनि सकेको काम गर्छ । तर गाउँपालिकाले मात्रै गरेर पुग्दैन ।’