मनकामना मन्दिर निर्माण सकियो, दशैंबाट खुला गर्ने तयारी

पोखरा, भदौ २७ ।
गोरखाको मुख्य धार्मिकस्थल मनकामना मन्दिरको पुननिर्माण पूरा भएको छ । २०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुगेपछि पुन निर्माण गरिएको हो । मन्दिर निर्माणमा करिब १३ करोड लागत लागेको जिणोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए । उनका अनुसार मन्दिर पूरानै स्वरुपमा निर्माण गरिएको छ ।

पुननिर्माण सकिएपछि यही दशैंबाट मन्दिर सर्वसाधारणका लागि खुला गर्ने तयारी भैरहेको छ । मन्दिर भत्काएपछि भक्तजनले आँगनमा टहरो बनाएर पुजाआजा गर्दै आएका थिए । पुननिर्माणका लागि सरकारले ४ करोड रुपैयाँ दिएको थियो भने बाँकी रकम चन्दा सहयोगबाट जुटाईएको श्रेष्ठले जानकारी दिए ।

तामाका पातामाथि सुनको जलप लगाएर मन्दिरको छाना सुनौलो बनाइएको छ । गजुर पनि राखिसकिएको छ । जलप लगाउन मात्रै १८ किलो सुन लागेको छ । मन्दिरमा दैनिक पाँच हजारभन्दा बढी भक्तजन पूजाआजाका लागि पुग्छन् ।