मध्यरातमा सांसद घर्तिको अन्तिम विदाइ, भावह्विल बन्यो गण्डकी प्रदेशसभा

पोखरा, मंसिर २९ ।
भारतको एपोलो अस्पतालमा उपचारकै क्रममा निधन भएका गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तिको मध्यरातमा गण्डकी प्रदेशसभाबाट विदाई गरियो । दिउँसो ४ बजे श्रद्धाञ्जली सभा भनिएकोमा एम्बुलेन्सले ढिलो गरेपछि मध्यराती १२ बजे उनलाई श्रद्धाञ्जली दिईएको हो ।

करिब ८ महिनाअघि जण्डिस रोगबाट पीडित बनेका घर्तीलाई केहीदिन अघिमात्रै थप उपचारका लागि भारत लगिएको थियो । लिभरले काम गर्न छाडेपछि लिभर फेर्न उनलाई दिल्ली लगिएको परिवार श्रोतले जनाएको छ । प्रदेश संसदमा छिरेको केही समयमै बिरामी परेका घर्तीको बिहीबार उपचारका क्रममा नयाँदिल्लीमै निधन भएको हो ।

घर्तिको शवमाथी प्रदेश प्रमुख बाबुराम कुवँर, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सभामुख नेत्रनाथ अधिकारीले नेपालको राष्ट्रिय झण्डा ओढाए । जनमोर्चाका सांसद तथा प्रदेश मामिला समितिका सभापति कृष्ण थापाले उनको जीवनी बाचन गरे । श्रद्धाञ्जलीसभामा प्रदेशसभाका विपक्षी दलका नेता सहित, मन्त्रीहरु र अधिकांश सांसदहरु उपस्थित थिए । अहिले हेलिकोप्टरमार्फत उनको शव गृहजिल्ला बागलुङ लैजाने तयारी भैरहेको छ ।

को हुन् घर्ति ?
प्रदेश सांसद टेकबहादुर घर्तीका बुबा पञ्चायती व्यवस्थाका पक्षपाती थिए । गाउँका मुखिया थिए । बहुदलपछि पनि उनका बुबाले गाउँमा मुखियाकै काम गर्थे । पञ्चायती व्यवस्थाकै वकालत गर्थे । मुखियाहरुले गाउँका मानिसलाई देखाउने प्रवृत्ति र व्यवहार छोरालाई मन परिरहेको थिएन ।

टेकबहादुर आफ्नै बुबाले समर्थन गरेको व्यवस्थाको विपक्षमा उभिएर कम्युनिस्ट बने । गाउँमा हुने थिचोमिच्योमा बोल्न थाले । अन्यायका बिरुद्ध आवाजहरु उठाउन थाले । बहुदलपछि उनी कम्युनिस्ट नेता चित्रबहादुर केसीसँग प्रभावित थिए । मान्छे–मान्छेबीच समान व्यवहार हुनुपर्ने उनका आवाजहरु उनकै बुबालाई चित्त बुझ्दैनथ्यो । तर, उनी कम्युनिस्ट व्यवस्थाले मान्छेबीचका असमानता हटाउने विश्वासका साथ लागि परे ।

बागलुङ ढोरपाटन सैखोलामा जन्मेका टेकबहादुर घर्ती देशमा बहुदल आउँदा जम्मा ११ वर्षका थिए । घर्ती आफ्नै उमेरमा कम्युनिस्ट आन्दोलनसँग नजिक भए । चित्रबहादुर केसी नेतृत्वको पार्टीको विद्यार्थी संगठन अखिल (छैठौं) मा आवद्ध भए । गाउँका मुखिया परिवार नै भएपनि उनीहरुसँग प्रसस्त सम्पत्ति र जग्गाजमीन भने थिएन ।

सशत्र संघर्षका बेला घर्ती परिवारको ढोरपाटन सैखोलामा पसल थियो । माओवादी सशत्र संघर्ष चर्किएका बेला उनको पसल लुटियो । घर्ती अपहरणमा परे । ३ महिना उनी अपरणमा परेर गाउँबाटै बिस्थापित भएको थिए ।गाउँबाट बिस्थापित भएर घर्ती बागलुङ बजार आए । उनले जनमोर्चामै रहेर राजनीतिलाई भने अगाडि बढाइरहे । जनमोर्चाको युवा संगठनमा आवद्ध भए । अखिल नेपाल युवक संघको बाग्लुङ जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य भए । पार्टीको जिल्ला सदस्य बने ।

पछि माओवादी शान्ति प्रक्रियामा आएपछि केही क्षतिपूर्तिसहित आफ्नो घर फिर्ता पाएका थिए । देशमा संघीयता आयो तर, उनको पार्टी भने संघीयताको पक्षमा थिएन । ०७४ मा संघीय नेपालको पहिलो प्रदेश तथा संघको निर्वाचनमा उनलाई पार्टीले टिकट दियो । वाम गठबन्धन गरेको राष्ट्रिय जनमोर्चाले बागलुङ २ सीट जित्यो । त्यसमा उनी पनि परे ।

संघीयताको बिरोध गर्दागर्दै उनलाई बागलुङ क्षेत्र नम्बर २ को ‘ख’ का जनताले त्यही संघीय व्यवस्थाले निर्माण गरेको प्रदेश संसदमा छिराइदिए । त्यस क्षेत्रका सांसद बन्न सफल भएका टेकबहादुरको जीवन भने त्यति सफल रहेन । बिस्थापित हुनु पहिल्यै उनको पारिवारिक सम्बन्ध बिग्रियो । उनीसँगै रहने बाचा गरेकी जीवनसंगीनी र उनीबीच पारपाचुके भयो । उनले दोस्रो विवाह गरे । पहिलो परिवारबाट उनको एक छोरी थिइन् । पछि दुई छोरा र चार छोरी जन्मिए ।

सामान्य किसान परिवारका टेकबहादुरलाई चिन्ता थियो, छोराछोरीको भविष्य र पढाइको । उनी भन्ने गर्थे, ‘म दुःख गरेरै भए पनि यिनीहरुलाई पढाउन सकुँ ।’ उनी प्रदेश सभा सांसद भएपछि उनीसँग परिवारको मात्रै चिन्ता र चासो थिएन, त्यस क्षेत्रकै जनताको सपना उनीसँग जोडिए ।

समृद्धिको ढोका खोल्ने प्रदेश सरकारको लक्ष्यलाई आफ्नो पनि सपना बनाइरहेका घर्तीले जनताको अपेक्षा पूरा गर्न पाएनन् । उनले चाहेको समृद्धि अब उनले कहिल्यै देख्न पाउने छैनन् ।–पत्रकार अमृत सुवेदीले अनलाईन खवरमा लेखेको समाचारको सहयोगमा ।