मध्यपहाडीको कास्की खण्डमा धमाधम काम, याम्दीपूर्वको रुट अझै अन्यौल

प्रकाश ढकाल
पोखरा, जेठ २५ ।
धेरै चर्चा चलेर पनि ढिलो गरी निर्माण थालिएको मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्की खण्डमा धमाधम काम भैरहेको छ । कास्कीमा पोखरा–बागलुङ राजमार्ग भित्र पर्ने याम्दीदेखि नयाँपुलसम्मको खण्डमा काम गरिएको हो । ३७ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरी काम चलिरहेको आयोजनाले जनाएको छ ।

याम्दीदेखि सुईंखेतसम्मको ६ किलोमिटर सडक शर्मा एण्ड कम्पनीले ठेक्का लिएको छ भने सुईंखेतदेखि घट्टेखोलासम्मको अर्को ६ किलोमिटरमा स्वच्छन्द इलाईटले काम गरिरहेको छ । बाँकी २५ किलोमिटर खण्डमा एपेक्स श्रेष्ठ दिवाले जिम्मा लिएर काम गरेको छ । याम्दीदेखि ११ किलोमिटर ६ लेनको हुनेछ भने त्यसपछि २ लेनको सडक हुने आयोजनाका सव ईन्जिनियर विवस बास्तोलाले जानकारी दिए । उनका अनुसार हालसम्म ठेक्काको २० प्रतिशत काम पूरा भैसकेको छ ।

‘रिटेनिङ वाल र ड्रेन बनाउने काम लगभग सकिन लाग्यो । भित्ता काट्ने काम पनि भैरहेको छ, उनले भने–कुनै अवरोध नभए सम्झौताभन्दा ६ महिनाअघि नै आयोजना पूरा हुन्छ ।’ विशेषगरी विजुलीका पोल र खानेपानीका पाईपले अवरोध भैरहेको उनी बताउँछन् । यसबाहेक निर्माण सामग्रीको पनि अभाव हुन थालेको बास्तोलाले बताए । ‘विद्युत प्राधिकरणलाई पटक पटक लिखित जानकारी गराएका छौं । खानेपानीमा पनि भनिसक्यौं, उनले थपे–वहाँहरुले सकारात्मक रेस्पोन्स दिनुभएको छ । मलाई लाग्छ समयमै पोल र पाईप हट्नेछन् । यसपछि त निर्माण सामग्री अभाव नभए काम गर्न समस्या छैन ।’ ४ सय ४० वटा भन्दा बढी पोल तत्कालै हटाउनुपर्ने उनको तथ्याकं छ ।

केही घरधनीहरुले चाहीँ अझैपनि घर छोड्न मानेका छैनन् । ‘जग्गाको मुआब्जा लिएपछि घर बनाएर बसिरहेका छन् । हट्नुस भनेर सूचना दिएको छु । भत्काउनुपर्ने घरमा रेजा पनि लगाईसकें, सव ईञ्जिनियर बास्तोला भन्छन्–भदौसम्म हट्नुभएन भने आयोजनाले नै भत्काईदिन्छ । २ महिना कुर्छौं ।’ सडक विस्तारलाई मध्यनजर गरी विभागले २०५२ सालमा नै मुआब्जा वितरण गरिसकेको थियो ।

याम्दीदेखि घट्टेखोलासम्मका कम्तिमा २० वटा घर भत्काउनुपर्ने अवस्थामा रहेको उनले सुनाए । आयोजनाको याम्दी घट्टेखोला सडकलाई २ खण्डमा गरी करिब ९९ करोड रुपैयाँको ठेक्कामा लगाईएको हो भने त्यसपछिको २५ किलोमिटर सडक भ्याट बाहेक ८२ करोड ७५ लाख रुपैयाँमा ठेक्का लगाईएको छ । तीनवटै खण्डमा १ अर्व ८१ करोड ७४ लाख रुपैयाँ भ्याट र प्रोभिजनल फर्म बाहेक ठेक्का लगाईएको आयोजनाले जनाएको छ ।

कास्की खण्डभित्र करिब ६ सय जना कामदारले दैनिक काम गरिरहेका छन् भने १५ वटा एक्साभेटर प्रयोगमा छन् । सम्झौता अनुसार असार, साउन र भदौ गरी ३ महिना काम गर्न पाईंदैन । ‘३ महिना काम नगर्ने सम्झौतामै उल्लेख छ । विस्तारै मजदुरहरु घर फर्किन थालेका छन्, घट्टेखोला देखि नयाँ पुलसम्मको सडकमा कार्यरत सव ईञ्जिनियर रामकृष्ण रिमालले भने–अरु कामदार पनि फर्किने क्रम जारी छ । असार लाग्ने वित्तिकै काम बन्द हुन्छ, असोजबाट सुरु गर्छौं ।’ कास्की खण्डमा काम गर्नका लागि गएको असोजमा ठेक्का सम्झौता गरिएको हो । तर विभिन्न अवरोध देखाउँदै ठेकेदार कम्पनीले मंसिरपछि मात्रै काम थालेका थिए ।

लमजुङको रामबजारबाट कास्की प्रवेश हुने मध्यपहाडी लोकमार्गको रुट अझै पनि टुंगिएको छैन । ‘रामबजारबाट भित्र्याउने कुरा फाईनल हो । तर त्यहाँबाट कुन बाटो भएर याम्दी जोड्ने भन्ने चाहीँ टुंगिएको छैन, आयोजनाका डिभिजन ईन्जिनियर रमेश दिष्टीले भने–डिपिआरको काम प्रोसेसमा छ । विभागले जिम्मा लिएर अध्ययन गरिरहेको छ ।’ पछिल्लो समयको पूर्व सम्भाब्यता अनुसार करापुटारबाट रामबजार हुँदै मिजुरे निस्किएर मध्यपहाडी लोकमार्ग कास्कीमा पस्छ ।

त्यसपछि भगवतिटार, माझठाना, कालिका हुँदै काहुँ कालिकास्थानबाट मनिपालको पछाडी आईपुग्छ । पोखराको मूख्य बजारलाई भित्र पारेर यो सडक भलाम हुँदै बाटुलेचौर, लामाचौरबाट याम्दी निस्किने छ । डिपिआर गर्दा लगभग यिनै ठाउँहरुलाई नछुटाउने गरी अध्ययन हुन्छ । डिपिआर भैसकेपछि बाध्यात्मक परिस्थिती बाहेक फेरवदल हुँदैन, दिष्टी भन्छन्–अध्ययन सकिएपछि ठेक्का लगाएर त्यो खण्डमा पनि काम सुरु हुन्छ ।’ यसअघि पनि विभिन्न ५ वटा रुटमा छलफल भएको थियो ।

हंसपुरबाट बेगनासताल निकाल्ने पहिलो योजना थियो । त्यसपछि सौर्य, माझठाना हुँदै बिजयपुर र हंसपुरबाट देउराली हुँदै गगनगौंडा रुट पनि अघि सारिएको थियो । मध्यपहाडीलाई नै सहज हुनेगरी अहिले मिजुरे खण्डमा सडक चक्ल्याउने र स्तरोन्नती भैरहेको छ भने लामाचौरबाट याम्दी जोड्नका लागि पुल निर्माण हुँदैछ । सडक निर्माण भएपछि सौर्य, कालिका लगायतका ठाउँहरुलाई बजार बनाउने योजना छ ।