मतदानको समय सकियो, मतपेटिका संकलन सुरु

काठमाडौं, मंसिर १० ।
निर्वाचन आयोगले पाँच बजे निर्वाचन सकिएसँगै मतपेटिका संकलनको काम सुरु गरिएको बताएको छ । आयोगले आइतबार निर्वाचन भएका ३२ जिल्लामध्ये सदरमुकामबाट नजिकका र सुगम मतदान स्थलका मतपेटिका छिटो ल्याउन सम्भव भए पनि टाढाको मतपेटिका जम्मा गर्न भने केही समय लाग्ने जनाएको छ ।
आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन भएका जिल्लाहरुबाट सबै मतपेटिका आजै जम्मा गर्न भौगोलिक अवस्थाका कारण कठिन रहेको बताए ।
आयोगले दोस्रो चरणको निर्वाचन नहुँदासम्म पहिलो चरणमा मतदान भएका स्थानको मतपेटिकाको सुरक्षाको लागि आवश्यक व्यवस्था मिलाइसकेको बताएको छ ।
‘मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहन्छ’, प्रवक्ता ढकालले भने, ‘राजनीतिक दलहरुको सहमति, समन्वय र सहकार्यमा सुरक्षित ठाउँमा राखिन्छ ।’
मतपेटिकाको सुरक्षाको लागि मुख्य निर्वाचन अधिकृतको निर्देशनमा सुरक्षा निकायले आवश्यक व्यवस्था मिलाउने ढकालले बताए ।
‘हेलिकप्टरबाट मतपेटिका ल्याउनुपर्ने अवस्था भएका ठाउँबाट हेलिकप्टर र अन्य ठाउँमा पनि आवश्यक व्यवस्था मिलाउने काम हुन्छ’, ढकालले भने ।
दुवै चरणको निर्वाचनको मत परिणाम २१ गतेपछि मात्रै गणना गर्न सुरु गरिने आयोगले यसअघि नै जानकारी गराइसकेको छ ।
‘निर्वाचनको आधारभूत सिद्धान्त नै त्यही हो कि, कुनै एक स्थानको मत परिणामले अर्को स्थानको मतलाई प्रभाव नपारोस्’, २१ गते एकैपटक मत गणना गर्नुको कारण दिँदै ढकालले भने ।