मकालु एयरले पोखरामा ‘माउन्टेन फ्लाइट’ गर्ने

पोखरा, कार्तिक १५ ।
पोखरा बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकले भरिन्छ । यहाँको प्राकृतिक सुन्दरतासँगै आतिथ्यता सबैको रोजाईमा पर्छ । यसकै भोग गर्नका लागि देश तथा विदेशबाट पनि बर्षेनी लाखौं पर्यटक पोखरा ओईरिन्छन् ।

यहाँ पर्यटकीय गतिविधि विभिन्न कारणले बढिरहेका छन् । यसकै लागि मकालु एयरले पनि पोखरामा माउण्टेन फ्लाईट गर्ने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरि सेवा सुचारु गरेको मकालु एयरका मार्केटिङ म्यानेजर समिर न्यौपानेले जानकारी दिए ।

‘पोखरा आउने पर्यटकलाई लक्षित गरेर सेवा सुरु गरेका हौं,’ न्यौपानेले भने, ‘सेवा प्रभावकारी हुनेमा आशावादि छौं ।’ विदेशी पर्यटकलाई १ सय ७५ डलर शुल्क तोकिए पनि आन्तरिक पर्यटकका लागि शुल्क निर्धारण गर्न बाँकी रहेको उनले बताए ।

‘होप’ नामक संस्था सँगको सहकार्यमा सेवा सञ्चालनमा ल्याएको उनले सुनाए । सेवा सुचारु भए पछि पर्यटकहरु लाभान्वित हुने कम्पनीको दाबी छ । अहिले जुम्लामा खाद्यान्न लैजाने काम गरिरहेको मकालु त्यो काम सकिने वित्तिकै पोखरा आउने छ ।