भ्रष्टाचारीदेखि गुन्डा नाइकेसम्म उम्मेदवार !

काठमाडौं, असोज २६ ।
आउँदो प्रदेशसभा र प्रतिनिधीसभा को उम्मेदवार बन्नका लागि दलहरुले विवादित अनुहारहरुलाई अघि सारेका छन् । गुण्डा नाइकेदेखि भ्रष्टाचारको आरोपमा सर्वोच्चले ठहर गरी मुद्दा नै विचाराधीन अवस्थामा रहेका ब्यक्तिहरु समेत उम्मेदवारमा सिफारिस भएका छन् ।
काँग्रेस र एमालेका उम्मेदवारहरु बढी विवादित छन् । कांग्रेसबाट गुन्डा नाइके भनी कहलिएका मिनकृष्ण महर्जन सिफारिसमा परेका छन् भने अर्का विवादित व्यक्ति रोज राणा अर्थात् सरोज थापा पनि सूचीमा अटाएका छन् ।
मिनकृष्ण महर्जनलाई ललितपुरबाट र राणालाई प्युठानबाट प्रदेशसभाको उम्मेदवारका लागि जिल्ला कमिटीले सिफारिस गरेको हो । यस्तै राजनीतिक दल सम्बन्धी ऐन र संविधानले समेत उम्मेदवारका लागि अयोग्य रहेका खुमबहादुर खड्कासमेत सिफारिसमा पर्न सफल भएका छन् । उनलाई नेपाली कांग्रेस दाङले प्रतिनिधि सभामा क्षेत्र नम्बर १ का लागि सिफारिस गरेको छ ।
तनहुँबाट गोविन्दराज जोशी पनि सिफारिसमा परेका छन् । उनी तनहुँ–१ का लागि सिफारिसमा परेका हुन् । जोशीको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा फैसलाको पालो पर्खेर बसेको छ । तर दलका नेताहरुले विवादस्पद छबि भएका व्यक्तिहरु प्रतिनिधि सभा र प्रदेश सभामा नपर्ने दाबी गर्दछन् । विवादित उम्मेदवारलाई बोर्डले काँटछाँट गर्ने बोर्डका सदस्य पूर्णबहादुर खड्काले बताए । नेपाली कांग्रेसले बुधबार मात्रै उम्मेदवार छनोट गर्न संसदीय बोर्ड गठन गरेको छ ।
‘जिल्ला कमिटीले मान्छे रिझाउन विवादित केही नाम समेत सिफारिस गरेका छन,’ खड्काले भने, ‘संसदीय बोर्डले संविधान र कानुनलाई मध्यनजर गर्दै उम्मेदवारको टुंगो लगाउँछ ।’
यता एमालेले पनि गुन्डा नाइके दीपक मनाङ्गेलाई मनाङबाट प्रदेशसभा उम्मेदवारको लागि सिफारिस गरेको छ । एमालेले आफ्नो चुनावी मापदण्डमा सार्वजनिक आचरण राम्रो भएको र संविधान र कानुन अनुसार उम्मेदवार हुन योग्य व्यक्ति सिफारिस गर्नुपर्ने भने पनि मनाङ्गेलाई जिल्ला कमिटी मनाङले सिफारिस गरेको हो ।
एमाले सचिव प्रदीप ज्ञवाली विवादित व्यक्तिहरु सिफारिसमा परेपनि अनुमोदन नहुने बताउँछन् । ‘सार्वजनिक आचरण खराब भएका व्यक्तिलाई एमालेले उम्मेदवार बनाउँदैन, तलबाट नाम सिफारिस भए पनि केन्द्रले अनुमोदन गर्दैन,’ सचिव ज्ञवालीले भने ।
एमालेबाट सिफारिस भएका दीपक मनाङ्गेविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा छ । उनको मुद्दा किनारा लागेको छैन । कांग्रेसका मिनकृष्ण महर्जनलाई अपहरण र फिरौती सम्बन्धी मुद्दा जिल्ला अदालत ललितपुरमा कायम छ ।
मनाङ्गेपछि उम्मेदवार हुने दौडमा काभ्रेका गुन्डा नाइके गणेश लामा पनि लागेका छन् । विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपालका केन्द्रीय समितिमा रहेका लामा काभ्रेबाट सिफारिसमा पर्न लागीपरेका छन् । लोकतान्त्रिक मोर्चाका पाउने सिट सुनिश्चित नहुँदा हालसम्म उनको पार्टीले कुनै पनि क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छैन ।