भोलि नै सरकारमा जाने माओवादी तयारी, यि हुन् दावेदार

काठमाण्डौं, फागुन ८ ।
माओवादी केन्द्रले पार्टी एकताको निर्णयसँगै नयाँ सरकारमा मन्त्री पठाउने तयारी गरेको छ । एकता प्रक्रिया सकारात्मक नतिजा उन्मुख देखिएको बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बन्न तयारी अवस्थामा रहन आफ्ना निकटकालाई निर्देशन दिएका छन् । अध्यक्षको आश्वासनसँगै माओवादीका धेरै नेताले सपथका लागि दौरा सुरुवाल तयार पारिसकेका छन् । एकीकृत पार्टीको निर्णय गरिए पनि केपी ओली नेतृत्वको वर्तमान सरकारमा माओवादी प्रमुख सत्ता साझेदार दलको रुपमा प्रवेश गर्नेछ । मुख्य सत्ता साझोदरको हैसियतामा माओवादीले गृह लगायतका केही शक्तिशाली मन्त्रालय हात पार्नेछ ।
माओवादीबाट सरकारको नेतृत्व रामबहादुर थापा बादलले गर्ने निश्चित देखिएको छ । माओवादीको संगठन विभाग प्रमुख समेत रहेका बादलले पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने इच्छा समेत देखाएका छन् । मन्त्रीका अर्का दाबेदार हुन्, मातृका यादव । प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित यादव मधेसमा माओवादीका सबैभन्दा ठूला नेता हुन् । माओवादी केन्द्रभित्र चन्द्र खनाल बलदेव अवसर नपाएका केही ठूला नेताभित्र पर्छन् । माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्रीमा रहँदा राजनीतिक सल्लाहकारको नियुक्ति पाएका बलदेव यसपटकको नयाँ सरकारमा माओवादीका प्रबल दाबेदार हुन् ।
पम्फा भुसाल माओवादीबाट मन्त्री बन्ने अर्को नाम हो । भुसाल प्रतिनिधिसभा निर्वाचनमा ललितपुर ३ बाट निर्वाचित भएकी थिइन् । देवेन्द्र पौडेल पनि अर्का दावेदारको रुपमा छन् । माओवादीबाट सरकारमा जाने इच्छा वर्षमान पुन र टोपबहादुर रायमाझी लगायतका नेताहरुले समेत देखाएका थिए । तर सभामुखमा ओनसरी घर्ती दोहरिने सम्भावना देखिएपछि वर्षमानले मन्त्रीको नेतृत्वमा दाबी नगर्ने मनसाय देखाएका छन् । बाबुरामले पार्टी छाडेपछि माओवादीभित्र एक्लिएका रायमाझी समेत राम्रो मन्त्रालय लिएर नयाँ सरकारमा जाने दाउमा देखिएका छन् ।
माओवादीभित्र सत्ताका दुई प्रमुख खेलाडी जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतलाई पार्टी अध्यक्षले कसरी मनाउलान्, सबैको चासोको विषय छ । पार्टी एकतामा उल्लेख्य भूमिका खेलेको भन्दै अध्यक्ष दाहालले नयाँ सरकारमा जनार्दनलाई पठाउन चाहेका छन् । तर लगातार उर्जा र गृह मन्त्रालय सम्हालेका शर्मालाई सरकारमा नपठाउन पार्टीभित्रै ठूलो दबाब छ । गृहमन्त्री भइसकेका अर्का नेता बस्नेत समेत नयाँ सरकारमा शक्तिशाली मन्त्रालय लिएर जाने लबिङ गरिरहेका छन् । माओवादीले भोलि नयाँ सरकारमा मन्त्रीहरुको सिफारिस गर्दैछ । स्रोतका अनुसार भोलि मन्त्रीहरुलाई सपथ खुवाउने तयारी प्रधानमन्त्री केपी ओलीले गरेका छन् ।