भू–जडित मुलुककोरुपमा विश्व रंगमञ्चमा नेपालले आफ्नो भूमिकालाई स्थापित गर्छ : उपप्रधान एवं रक्षामन्त्री पोखरेल

 

काठमाडौं, असोज २७ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपालले चिनियाँ सरकारका अनुभव र कामहरुबाट सिक्न चाहेको बताएका छन् ।

सिल्क रोड युथ फोरमले सोमबार काठमाडौंमा गरेको ‘चाइना नेपाल युथ कर्पोरेसन कन्फ्रेन्स’लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले चीन र नेपालमा कम्युनिस्ट पार्टीको सरकार रहेको सन्दर्भमा आफूहरुले चिनियाँ सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताए ।

नेपालका कम्युनिस्टहरुले जनतासँग गरेको प्रतिबद्धताअनुसार अगाडि बढ्ने अठोट गरेको उल्लेख गर्दै उनले चिनियाँ कम्युनिस्टहरुकै पथमा नभइ नेपालको विशेषताअनुसार पृथक ढंगले अघि बढ्ने स्पस्ट पारे ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई भू–परिवेष्ठितबाट भू–जडित बनाउने अभिव्यक्ति दिएको स्मरण गर्दै उनले अब भू–जडित मुलुककोरुपमा विश्व रंगमञ्चमा नेपालले आफ्नो भूमिकालाई स्थापित गर्ने बताए ।

उपप्रधानमन्त्री पोखरेलले चिनियाँ राष्ट्रपति सीको भ्रमणकाक्रममा भएका प्रतिबद्धतालाई दृढतापूर्वक कार्यान्वयन गर्ने र दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै लैजाले धारणा पनि राखे ।

उनले चिनियाँ राष्ट्रपति आउँदा आफूहरुले ‘सपिङ लिस्ट’ बोकेर नबसेको भन्दै दुई देशबीचको मित्रलाई पर र्पुयाउन चाहेको उल्लेख गरे । (ईमेजखबरबाट साभार)