भालु पहाडमा टुरिजम स्पट बन्ने, ४५ करोड लगानी हुँदै

पोखरा, असोज ५ ।
स्याङजाको फेदीखोला गाउँपालिका स्थित भालुपहाडलाई नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास गरिने भएको छ । पर्यटनमैत्री भौतिक संरचना निर्माणका लागि गुरुयोजना समेत तयार भैसकेको छ । फेदीखोला गाउँपालिकाले पहाडको विकास र पर्यटक भित्र्याउने लक्ष्य सहित बृहत गुरुयोजना अघि सारेको हो ।

सरकारी निजी साझेदारी (पिपिपि मोडल) मा ४५ करोड रुपैयाँ लगानी गरी विभिन्न संरचनाहरु निर्माण हुने गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य निर्माण गर्ने उनले सुनाए ।

दैनिक सय जनाको हाराहारीमा अहिले भालुपहाड पुग्ने गरेको तथ्याकं गाउँपालिकाले राखेको छ । योजना पूरा भएपछि दैनिक २ हजारदेखि ३ हजारसम्म पर्यटक पुग्ने उनको अनुमान छ । ३ बर्षभित्र काम सक्ने लक्ष्य छ । भालुपहाडमा अत्याधुनिक झोलुङ्गे पूल निमार्ण गरिनेछ भने पार्क, वाटर फाउण्टेन, विशिष्ट टुरिजम स्पट, चमेना गृह, हिन्दु र बौद्ध धर्मालम्बीहरुलाई लक्षित गरी शिव र बुद्धको मुर्ति राखिने अध्यक्ष सुवेदीले जानकारी दिए ।