भारतीय प्रधानमन्त्री मोदी जेठमा नेपाल आउने

काठमाण्डौं, बैशाख ८ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोश्रो पटक नेपाल भ्रमणमा आउने तयारी गरेका छन् । यही जेठ ११ गते नेपाल आउने गरी तयारी सुरु भैसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणको मिति मे २५ अर्थात जेठ ११ गते तोक्ने गृहकार्य भइरहेको तर यसमा भारतीय पक्षसँगको सल्लाहअनुसार केही दिन यताउता हुन सक्ने सरकारी अधिकारीहरुले बताएका छन् । हिन्दुस्तान टाइम्सले मोदी आगामी मे ११ (वैशाख २८) मै नेपाल भ्रमणमा आउने समाचार लेखेको छ । तर, परराष्ट्रका अधिकारीहरु भने मे ११ मा नभई मे २५ मा मोदीको भ्रमणको तयारी भइरहेको बताउँछन् ।

स्रोतका अनुसार, मे २० देखि २५ वीचमा भ्रमणको मिति तय हुन सक्छ । मोदीको समयको चापलाई हेरेर मिति तय गर्ने गृहकार्य भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगत्तै मोदीले नेपालको भ्रमण गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । भारतीय पक्षले निम्तोलाई स्वीकार्दै भ्रमणको मिति आपसी समझदारीमा तय गर्ने जानकारी दिएका थियो ।

नेपाल भ्रमणका क्रममा मोदीले जनकपुरधामसमेत भ्रमण गर्ने गरी तयारी भइरहेको स्रोतले बताएको छ । नेपाल आएका बेला मोदीले ठूलो रकमको सहयोग घोषणा गर्ने सम्भावना छ । साथै अरुण तेस्रो जलविद्युत आयोजनाको उदघाटन गर्नसमेत मोदीले ईच्छा प्रकट गरेका छन् ।