भारतीय गाडीमा हुईंकिएर दीपक मनाङे प्रदेशसभा छिरे

पोखरा, माघ १५ ।
निर्वाचित भएको १४ महिनापछि प्रदेश सांसदको सपथ लिएका राजीव गुरुङ उर्फ दीपक मनाङे भारतीय नम्बर प्लेटको गाडीमा हुईंकिएर प्रदेशसभामा छिरेका छन् । मनाङ (ख) बाट निर्वाचित उनलाई अदालतमा मुद्धा बिचाराधीन रहेको भन्दै सपथ गराईएको थिएन ।

तर राजनीतिक दवावपछि सभामुख नेत्रनाथ अधिकारीले सोमबार साँझ प्रदेशसभा भवनमा सपथ गराए । भोलिपल्ट मंगलबार उनै मनाङे भारतको विहार राज्यको नम्बर प्लेट राखिएको गाडीमा चढेर प्रदेशसभा आएका हुन् । बी आर ०६ पि डि ७५२९ नम्बरको गाडी चढेर उनी प्रदेशसभा बैठकमा सहभागी हुन आए ।

यसअघि, प्रदेशसभाको भित्री गेटबाट मन्त्री, प्रदेशसभा सदस्य र सरकारी गाडी मात्रै प्रदेशसभा भवन परिसरमा छिर्ने गरेका थिए । विदेशी नम्बर प्लेटको गाडी पहिलो पटक प्रदेशसभाकै सांसदले लिएर छिरेका छन् । उनी प्रदेशसभा छिर्दा गेटमा रहेका सुरक्षाकर्मीले समेत सोधपुछ गरेनन् ।

सञ्चारकर्मीको सोधपुछको क्रममा मनाङेले भने, ‘मेरो गाडी होईन, भाईको हो, भित्र ल्याउन पाउने नपाउने कुरा त्यो त प्रहरीले हेर्नुपर्ने हो भित्र ल्याउन पाउँछ कि नाई, उनीहरुले जान्नुपर्ने कुरा हो ।’

उनले भारतीय नम्बरको गाडी प्रदेशसभामा ल्याउन पाउने नपाउने भन्दा पनि दिनको ४ सय ५० रुपैयाँ तिरेको छ, छैन त्यो बुझ्न सुझाव दिए । ‘मैले रसिद देखाउँला, गाडी भित्र ल्याउन किन नपाईने हो, भारतले त्यत्रो एम्बुलेन्स दिईराख्छ, के त्यो ल्याउन नपाउने हो, उड्न पो नहुने गुड्न त हुन्छ नि ।’

२ नम्बर प्रदेशका मुख्यमन्त्रीहरु नै भारतीय गाडी चढेर निर्वाद हिँडिरहने भन्दै उनले यो ठूलो कुरा नभएको बताए । यस विषयमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले यसबारे कानुनी कार्यविधी हेर्नुपर्ने बताए ।