भारतले निकालेको नक्सामा आपत्ति छः प्रचण्ड

पोखरा, कार्तिक २२ ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले निकालेको नयाँ नक्साबारे आपत्ति जनाएका छन् । भौगोलिक अखण्डता र सार्वभौमिकतामा नेकपा लचिलो नहुने भन्दै नक्सामा पुनः विचार गर्न उनले आग्रह गरेका छन् ।

‘पार्टी र सरकारले पनि आधिकारिक धारणा सार्वजनिक गरेको छ । जुनखालको नक्सा सार्वजनिक भएको छ, त्यो नेपाललाई मान्य छैन । सरकारले पनि कुटनीतिक तवरबाट कुरा राख्छ । र हाम्र्रो यसमा गम्भीर आपत्ति छ । यो बिषय सच्याईनुपर्छ,’ उनले भने, ‘लिपुलेकको कुरा भारत र चीनको सहमति भएको कुरा आउँदा संयोगबश म भारत भ्रमणमा थिएँ । उतिबेलै त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग यो गलत भएको छ, पुनःविचार गरिनुपर्छ भनेको थिएँ । अहिले त झन् कालापानी सप्पै नै नक्साभित्र पारिसकेपछि यो नेपाललाई सह्य हुन सक्दैन । सिंगो राष्ट्र एक ढिक्का छ । नेपालको भौगोलिक अखण्डताको बारेमा, नेपालको राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ताको बारेमा कहिँ कतै हामी कम्परमाईज गर्ने वा लचिलो हुने भन्ने छैन ।’

पोखरामा पत्रकार सम्मेलन गर्दै प्रचण्डले प्रदेश प्रमुख हेरफेरको कुरा चुनावी आचारसंहिता भित्र नपर्ने उनको भनाई छ । ‘आचारसंहितासँग सम्बन्धित कुरा नै होईन । निर्वाचन सँग सम्बन्धित कुरो नै होईन । प्रदेश प्रमुख भनेको सरकारको प्रतिनिधिको रुपमा प्रदेशमा काम गर्ने कुरा हो,’ उनले भने, ‘नैतिक र राजनीतिक दुवैे दृष्टीले प्रदेश प्रमुखले राजीनामा दिएर नयाँ सरकारलाई आफु अनुकुलको प्रमुख चुन्ने बाटो खुला गरिदिनुपथ्र्यो । हामीकहाँ त्यो राजनीतिक संस्कार प्रदर्शन हुन सकेन । सरकारले दुई तिहाई साथ आईसकेपछि प्रदेशप्रमुख राखिराख्नुपर्ने थिएन । हामी उदार भएका कारण दुई बर्षसम्म राख्यौं ।’

कास्की २ को उपनिर्वाचनको तयारी स्वरुप कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा आईपुगेका प्रचण्डले चुनावमा खटेर नयाँ सन्देश स्थापित गर्न कार्यकर्तासँग अनुरोध गरेका छन् । ‘निर्वाचन सम्पन्न भएर परिणाम ननिस्किने बेलासम्म तपाईंहरु एक ढिक्का भएर, रातदिन खटेर नेपाल कम्युनिष्ट पार्टी अझ बढी लोकप्रिय भएर अगाडी बढेको छ भन्ने शक्तिशालि सन्देश सहित हामी अगाडी बढ्ने छौं,’ कार्यकर्तालाई निर्देशित गर्दै उनले भने । प्रचण्डले कास्की २ की उम्मेदवार विद्या भट्टराईलाई विजयको शुभकामना दिए । उनले बागलुङ २ (ख) मा उम्मेद्वारी दिएका नेकपाका बागी उम्मेदवार शेरमान घर्ती मगरलाई १–२ दिनमै फिर्ता बोेलाउने बताए ।