भारतको राजस्थानमा नेपाली दम्पतीले गरे आत्महत्या

काठमाण्डौं, पुस ७ ।
भारतको राजस्थान राज्यमा नेपाली दम्पतीले आत्महत्या गरेका छन् । मृतक दम्पती नेपाली नागरिक रहेको बताइएपनि नेपाल कुन ठाउँ हो, त्यसबारे निश्चित जानकारी स्थानीय प्रहरीले पाउन सकेको छैन ।

मृतकको नाम गगनसिंह र शारदा बताइएको छ । घटना बिहीवार अबेर बेलुकी भएको हो । घटना राजस्थानको मण्डीस्थित सात नम्बर वार्डमा भएको हो । प्रहरीका अनुसार यी दुवैको उमेर २५ देखि ३० वर्षको बीचमा छ ।

प्राप्त जानकारी अनुसार पुरानो चुङ्गी नाका नजिक बाइस लिङ्क रोडमा रहेको एक घरमा यी दुई दम्पती लामो समयदेखि भाडामा बस्दै आएका थिए । उनीहरू जुन घरमा बस्थे, त्यो घरको अन्य कोठामा अन्य नेपाली पनि बस्दै आएका छन् ।

उनीहरू यहाँ घर बनाउने तथा अन्य काम गर्थे । यी दुई दम्पती बिहीवार अबेर साँझसम्म नउठ्दा अर्को कोठामा बस्ने छिमेकी महिला राधाले ढोका ढकढकाइन् । ढोका भित्रबाट बन्द थियो । धेरैबेर ढोका ढकढकाउँदा पनि नखोलेपछि आशङ्का लागेर उनले अन्य छिमेकीहरूलाई यसबारे जानकारी गराइन् ।

घटनाबारे स्थानीय मानिसहरूले दिएको सूचनाका अनुसार घटनास्थलमा पुगेका प्रहरी टोलीले ढोका खोलेर हेर्दा दुवैलाई मृत अवस्थामा भेटेको थियो । दुवैको गलामा फाँसी लगाइएको थियो । प्रहरीले त्यसै घरमा बस्ने अन्य नेपालीहरूबाट मृतक दम्पतीबारे जानकारी जुटाउने कोशिश गरिरहेको छ ।