भाचोक दुर्घटना–मृतकलाई अस्पतालमै श्रद्धाञ्जली

पोखरा, पुस ९ ।
शुक्रबार साँझ कास्कीको मादी गाउँपालिका स्थित वडा नम्बर १० भाचोकको गहतेबारीमा भएको बस दुर्घटनामा परि ज्यान गुमाएकी पदमकुमारी नेपालीलाई नेपाली काँग्रेसले आईतबार गण्डकी अस्पतालमै श्रद्धाञ्जली दिएको छ । नेपालीको पोष्टमार्टम पछि अस्पतालमा काँग्रेस कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय समितिले श्रद्धाञ्जली सभा गरेको हो । नेपालीको शवमा कास्की क्षेत्र नम्बर १ का कांग्रेस सभापति बृजमान गुरुङ, सचिव कृष्ण कोइराला, काँग्रेस नेतृ सरस्वती गुरुङ, महाधिबेशन प्रतिनिधी गिरीराज गौतम, काँग्रेसका मादी गाउँपालिका संयोजक देवीजंग गुरुङ, प्रकाशमोहन खनाल, जिल्ला सदस्य नवीन सिग्देल, ओमप्रकाश गुरुङ, मादी ९ का वडाध्यक्ष याम गुरुङ लगाएतले संयुक्त रुपमा काँग्रेसको झण्डा ओढाएका थिए ।
श्रद्धाञ्जलीसभामा क्षेत्रीय सभापति गुरुङले नेपालीको मृत्युले काँग्रेसलाई अपुरणीय क्षति भएको बताए । मृतक नेपाली काँग्रेसको क्रियाशिल सदस्य हुन् भने काँग्रेसकै तर्फबाट मादी गाउँपालिका वडा नम्बर ९ मा स्थानीय चुनावको उम्मेदवार भएर बिजयी भएकी हुन् । उनलाई मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम) र उपाध्यक्ष विष्णुमाया पौडेलले पनि अस्पतालमै पुगेर श्रद्धाञ्जली दिएका छन् । पोष्टमार्टम पछि आफन्तले नेपालीको शव बुझेर गाउँ लगेका छन् । दुर्घटनामा घाईतेको पोखरा स्थित विभिन्न अस्तपालमा उपचार भैहरेको छ ।