भाचोक दुर्घटना–पीडित पक्ष र पृथ्वी समिति बीच सहमति (के सहमति भयो)

पोखरा, पुस ९ ।
शुक्रबार साँझ मादी गाउँपालिका १० भाचोक स्थित गहतबारीमा भएको बस दुर्घटनाका पीडित र पृथ्वी राजमार्ग बस सञ्चालक समिति बीच सहमति भएको छ । आईतबार भएको द्धिपक्षीय बैठकमा ५ बुँदे सहमति भएको हो । दुर्घटनामा घाईतेको उपचारमा कुनै पनि कञ्जुस्याईँ नगर्ने र आवश्यक उपचारको ब्यवस्था पृथ्वी समितिले मिलाउने, मृतकलाई तत्काल नियमानुसार पाउने ५ लाख रुपैयाँ उपलब्ध गराउने, मृतकको स्मृतिमा समितिले अर्धकदको शालिकसहित प्रतिक्षालय निर्माण गरिदिने र त्यसका लागि जग्गा र प्राविधिक सहयोग गाउँपालिकाले उपलब्ध गराउने, परिवारको कुनै १ सदस्यलाई योग्यताअनुसारको रोजगारी दिने लगाएतका सहमति भएको छ । सहमति पछि आईतबारदेखि नै त्यस रुटमा बस सञ्चालन खुला भएको छ ।
सहमतिपत्रमा पृथ्वी बस ब्यवसायी समितिको तर्फबाट उपाध्यक्ष तथा दुर्घटना संयोजक धर्मराज अर्याल, पीडित पक्षबाट मादी गाउँपालिका उपाध्यक्ष विष्णु पौडेल, मादी ८ का वडाध्यक्ष यामबहादुर गुरुङ, मादी ९ का वडाध्यक्ष तोरणबहादुर गुरुङ, नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति बृजमान गुरुङ, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य ओमप्रकाश गुरुङ र मृतकका भाईले हस्ताक्षर गरेका छन् ।