भड्किलो तीजप्रति पोखरेली महिलाको चिन्ता, वडातहमा अभियान शुरु

पोखरा, भदौ ९ ।
पछिल्लो समय तिजमा देखिने तडकभडक प्रति पोखराका महिलाहरुले चिन्ता ब्यक्त गरेका छन् । नारी जागरण अभियानले पछिल्ला बर्षहरुमा देखिएको तिजको भड्किलो पना सुधार हुनुपर्ने भन्दै अभियानकै रुपमा सचेतना कार्यक्रम गर्ने बताएको छ ।

वडातहमा महिलाहरुलाई सचेत बनाएर स्वःस्फुर्त यस्ता तडकभडकबाट टाढा रहन उत्प्रेरित गर्ने अभियानकी संयोजक अञ्जु केसीले बताईन् । ‘तिज महिलाहरुको महान चाड हो । यसको छुट्टै विशेषता र महत्व छ, उनले भनिन्–१ महिनाअघि देखि दर खाएर रमाईलो गर्दा छिमेकीलाई कस्तो असर पर्छ ? असोज कार्तिकमा पर्ने दशैं भदौमा मनाईयो भने त्यसको महत्व के होला ? त्यसैले यस्ता विकृती रोक्नैपर्छ ।’

शुक्रबार वडा नम्बर ६ बाट अभियान सुरु भएको छ । अभियानमा कानुनी प्रशिक्षण सहित सामाजिक सचेना समेत दिईएको छ ।

शनिबार पोखरा १२ मा सोही अभियान चलेको छ । संविधानमा व्यवस्था गरिएको महिलाको हक अधिकारका विषयमा केन्द्रित भएर प्रशिक्षण दिइएको हो । समाजमा भइरहेका महिलासँग संवन्धित घटना, हिंसा, बलात्कार लगायतका घटनामा महिलाको अधिकार र यसको प्रतिवाद गर्ने कानुनी आधारका बारेमा अधिवक्ता भगवती पहारीले प्रशिक्षण दिएकी हुन् ।

पोखरामा क्रियाशिल ६० भन्दा बढी महिला संघ संस्थाको सहभागितामा विकृति रोक्न भन्दै महिला जागरण अभियान थालिएको हो । महिलाहरु आफ्नो अधिकारमा सचेत रहनुपर्ने भन्दै संयोजक केसीले महिलाका समस्या समाधान गर्न हातेमालो गरेर अघि बढ्नुपर्ने बताईन् । अभियान अन्तर्गत आइतबार ११ नम्बर वडामा कार्यक्रम गरिने केसीले जानकारी दिईन् ।