ब्रेकिङ न्यूज–गोरखामा पहिरोले ६ घर बगायो

पोखरा, भदौ २९ ।
गोरखाको चुमनुब्री गाउँपालिका स्थित सिर्दीबासको घट्टे खोलामा पहिरोले ६ घर बगाएको छ । तीन दिन देखिको अविरल बर्षापछि शुक्रबार साँझ ८ बजे एक्कासी पहिरो झर्दा घर बगाएको गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङले जानकारी दिईन् ।

‘पानी असाध्यै परेको तीन दिन भयो, उनले भनिन्–अघि ८ बजे तिर एक्कासी खोला सुसाएर आयो । गाउँलेहरु के भएर भनेर बाहिर निस्कन नपाउँदै घट्टेखोला त गाउँमै पसिभ्याएछ । हेर्दाहेदै घर लगिहाल्यो ।’

अहिले घट्टेखोला नै गाउँमा पसेको उनले जानकारी दिईन । रनबहादुर गुरुङ, मैयाँ गुरुङ, काली गुरुङ, बहादुर गुरुङ, कुमारी गुरुङ र सुरमान गुरुङको घर बगाएको हो ।

‘गाउँलेको विजोग भएको छ, उनी भन्छन्–सामान पनि निकाल्न पाएन । मान्छे जसोतसो बाँचेको छ । घर भएको ठाउँमा खोला देखिन्छ । अहिले केही केही घरको सामान फिलीम गाउँबाट आएको गाउँलेको सहयोगमा डाँडामा सारेका छौँ ।’