‘ब्राण्डलेस’ स्ट्रिट फेस्टिवल

पोखरा,  पुस १२ ।

तत्कालीन राजा वीरेन्द्रलाई सन् १९९८ मा भेट्दा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईसँग राजाले त्यसबेला चिन्ता पोखे-‘पोखरामा कसरी पर्यटक बढाउन सकिन्छ ?’

भट्टराईसँग राजालाई दिने कुनै प्रतिक्रिया थिएन, तर अठोट थियो । ९० को दशकमा नेपालभर वाषिर्क मुस्किलले ५ लाख हाराहारीमा पर्यटक भित्रिन्थे । तीमध्ये ५० प्रतिशत पनि पोखराको भागमा पर्दैनथ्यो । यसको मतलव २ लाख जति पर्यटकमात्रै वर्षेनी पोखरा आइपुग्थे । नेपालीमा घुम्ने चलन चलिसकेको थिएन । विदेशी पर्यटक नआउँदा पोखराको ‘लेकसाईड’ फेवा किनारमात्रै बन्थ्यो । त्यसो त फेवा किनार ‘लेकसाईड’ बनेको पनि उति धेरै भएको छैन । लेकसाईडमा पर्यटकीय चहलपहल नभएपछि भट्टराईले नयाँ कन्सेप्ट ल्याए-सडक महोत्सव । जुनबेलादेखि पोखरामा सडक महोत्सव चल्न थाल्यो, त्योभन्दा पहिले नै गोवाको समुद्री किनारमा फुड फेस्टिवल चल्थ्यो । यूरोपियन देशमा हिउँमाथि खाने रमाउने चलन धेरै पुरानो हो । भट्टराई सन् १९९८ मा गोवा फेस्टिवलको दर्शक भएपछि पोखरामा सडक महोत्सव थालनी भयो । ‘समुद्र देखाएर नाचगान गरेकै भरमा गोवामा विश्वका पर्यटक ओइरिन्छन् । ‘पोखरामा यति सुन्दर ताल छ, आफ्नै संस्कार र संस्कृति छ’-उनले भने-‘कल्चरमा यति धनी नेपालमा पर्यटक नआउँदा चिन्ता लागेर हामीले सडक महोत्सव गर्न थाल्यौं ।महोत्सवमा देशैभरका जातजाति आफ्नो पहिचान लिएर आउन थाले । त्यही देखाएर हामीले पर्यटक बोलायौं ।’ उनको योजना सफल भयो । तर उनकै परिकल्पना अनुसार महोत्सव चल्न सकेको छैन । ‘नेपालमा हरेक जातिका आफ्नै संस्कार र संस्कृति छन् । तर एक्सपोज हुन पाइरहेका थिएनन्’-उनले भने-‘हामीले फूड, म्यूजिक र कल्चर भनेर इभेन्ट क्रियट गर्‍यौं । त्यसले महोत्सवको पनि आकर्षण बढायो । अहिलेको महोत्सव स्थानीय कल्चरभन्दा अलि बढी आधुनिकतामा ढल्किएको छ ।’

वर्षेनी दर्शकको बढ्दो उपस्थितिले हौशिएको आयोजकलाई एकातिर दर्शकको माग थामीराख्ने चुनौती छ भने अकोर्तिर नाफा नदेखिने प्राचीन सँस्कृति पछ्याउनु कठिनप्रायः छ । स्थानीय उत्पादन बेच्न थालिएको महोत्सवमा बेच्ने स्थानीय उत्पादन छैन । यसको दोष पर्यटन व्यवसायीभन्दा बढी सरकारको हो । सधैँ अवरोध खडा गर्ने तर कानुन कार्यान्वयन गर्न नसक्ने सरकार र सम्बन्धित निकायको कमजोरी छ । पोखराको पर्यटनले सरदर हाफ सेञ्चुरी कटायो । यस अवधिमा यहाँ पर्यटकको संख्या केही बढ्यो तर अपेक्षाभन्दा निकै न्यून । ‘पोखराको ब्राण्ड आतिथ्य हो । हाम्रो आतिथ्यले पर्यटक लोभ्याउँथ्यो र दोहोर्‍याएर उनीहरु पोखरा आइरहन्थे’-पुराना व्यवसायीहरु भन्छन्-प्रतिष्पर्धाले हाम्रो ब्राण्ड नै ध्वस्त भैसकेको छ । आफ्नो पहिचान गुमायौं भने पोखराबाट पर्यटक विस्तारै हराउन थाल्छन् । यो बढी चिन्ताको विषय हो ।’

पोखरामा हाल १० लाख हाराहारी पर्यटक आउँछन् । तर यो तथ्य तथ्यांक भने होइन । पोखरामा कति पर्यटक भित्रिन्छन् भन्ने कुनै निकायसँग पनि तथ्यांक छैन । तर भित्रिएका पर्यटकमध्ये आधाभन्दा बढी आन्तरिक पर्यटक छन् । अझै पनि सरदर ४ देखि ६ महिना पोखराको पर्यटनमा अफसिजन चल्छ । मुस्किलले २ महिना धानिने पर्यटन व्यवसाय अहिले आन्तरिक घुमन्ते बढेकै कारण आधा वर्ष चल्न थालेको छ ।

पर्यटक बढाउन सडक महोत्सवको सघाउ मान्ने हो भने नेपालीकै कारण पोखराको पर्यटनमा अफ सिजन घटेको व्यवसायी स्वयं स्वीकार्छन् । ‘सडक महोत्सवले विदेशी पर्यटक बढेको होइन तर घुम्न आएका धेरै पर्यटक नयाँ वर्षमा घरदेश फर्किँदैनन्, त्यो हाम्रो सफलता हो’-पर्यटन व्यवसायी टीकाराम सापकोटाले भने-‘तर यतिमा मात्रै सडक महोत्सव खुम्चिनु हुँदैन । यसलाई स्थानीय सँस्कृतिसँग मिलाउने भने महोत्सवको आयु बढाउन सकिन्छ ।’ यद्यपि महोत्सव परिस्कृत गरेर लैजानुपर्ने उनको सुझाव छ । स्थानीय अपनत्व बढाउने उद्देश्यले मिनी स्ट्रिट फेस्टिवलमा एकपटक सडकमै ढिँकीजाँतो प्रदर्शनी गरिएको थियो । तर यो नियमित हुन सकेन । सापकोटाले त्यसलाई पनि आगामी महोत्सवमा सम्बोधन गर्न सुझाए ।

सडक महोत्सवले पोखरामा पर्यटक बढेको छ । यसलाई नकार्न सकिँदैन । ‘एज अ होल सडक महोत्सव पोखराको ब्राण्ड भयो । आन्तरिक पर्यटकलाई नयाँ वर्षको दिन पोखरा आउने वातावरण बनेको छ’- पर्यटनमा लामो समयदेखि कलम चलाउँदैआएका पत्रकार सन्तोष पोखरेलले भने-‘सडक महोत्सव मेलामात्रै स्थानीय हो । महोत्सवमा पाउने केही पनि स्थानीय छैन ।’ मनोरञ्जनका लागि मात्रै सडक महोत्सवलाई हेर्ने गरेको उनको विश्लेषण छ । ‘पोखरा भएकै कारण स्ट्रिट फेस्टिवल जमेको हो तर स्ट्रिट फेस्टिवल चिनाउने पोखरासँग केही छैन’-उनी भन्छन्-‘आउँदो महोत्सव फरक हिसाबको होस् भन्ने सबैको चाहना छ । यसमा आयोजकले पनि सोच्नुपर्छ ।’

सडक महोत्सव जानेबुझेकाहरु अलि फरक हिसाबले पनि हेर्छन् । महोत्सव अलिक विकृत बनेको एकाथरीको टिप्पणी छ । ‘अंग्रेजी नयाँ वर्षमा पोखरा जाऔं भन्नेर्र् इमेज बनेको छ । महोत्सव पोखरामात्रै होइन, अन्तर्राष्ट्रियस्तरमा प्रचारित भैसक्यो’-स्तम्भकार श्रीकान्त खतिवडा भन्छन्-‘यो महोत्सव भव्य भयो तर सभ्य भएन । ब्राण्ड बनाउन यसको सभ्यता पनि ख्याल गरिनुपर्छ ।’ बरालिनका लागि सडक महोत्सव भन्ने धारणा बदलिनुपर्ने उनको भनाइ छ । आर्थिक रुपले महोत्सव राम्रो भए पनि विकृति बढावालाई मिलेको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल बताउँछन् । उनले पनि महोत्सवलाई सुन्दर हिसाबले प्रस्तुत गर्न आयोजकसँग आग्रह गरेका छन् । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल -रेवान), पोखराका अध्यक्ष चौबहादुर गुरुङले यस वर्षको महोत्सवमा केही नयाँपन दिन लागिएको बताए । ‘यसपालि सातै प्रदेशबाट सांस्कृतिक टोली आउँछन् । एकैठाउँमा ७ जिल्लाको सुन्तला राखेर सुन्तला महोत्सव पनि गर्ने तयारी छ’-उनले भने-‘विस्तारै महोत्सव स्थानीय उत्पादन र संस्कृतिको प्रबर्द्धनतर्फ ढल्किएको छ । महोत्सवमा आउनेले केही सिकूँन् भन्ने हाम्रो धारणा हो ।’ उनका अनुसार महोत्सवमा सतार, मैथिली, नेवारी, गुरुङ, मगर, थारु, देउडा, हुम्लेली लगायत जातिका मौलिक संस्कृति देखाइने छ । रेवान पोखराले सन् १९९९ देखि लगातार सडक महोत्सव गर्दैआएको छ । बिहीबारदेखि हुने महोत्सव १९ औं संस्करणको हो ।

 

– प्रकाश ढकाल