ब्याचलर पढ्दै गरेकी युवती विभत्स ढंगले झुण्डिएको अवस्थामा भेटिईन्

काठमाण्डौं, मंसिर ४ ।
काभ्रेको पनौतीमा एक युवती नांगो भएर झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्लाको पनौती–५ की करिब २२ वर्षीया सुधा केसी घर नजिकैको आइटी पार्कपछाडि रूखमा पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएकी हुन् ।

उनको शरीरमा भित्री वस्त्र मात्र रहेको र छेउमा अन्य कपडा भेटिएको काभ्रे जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काले जानकारी दिए । सोमबार बिहान ५ बजे घरबाट निस्किएकी उनी मृत फेला परेको खबर त्यही दिन बिहान ७ बजे प्रहरीमा आएको उनले बताए ।

‘उनको शरीरमा कुनै चोटपटक देखिँदैन, अनुसन्धान जारी छ,’ एसपी खड्काले भने, ‘शव पोस्टमार्टमका लागि पठाएको छौं, त्यसको रिपोर्ट आएपछि केही खुल्ला ।’ बलात्कार र हत्या हो कि ? एसपी खड्काले भने, ‘यही ढंगबाट अनुसन्धान गरिरहेका छौं । अहिले केही भन्न सकिँदैन। अहिले कुनै प्रमाण फेला परेको छैन ।’

ती युवती काभ्रे कलेजमा ब्याचलर सेकेन्ड इयर (स्नातक दोस्रो वर्ष) की छात्रा रहेको प्रहरीले जनाएको छ ।