बोक्सीले पेटमा छेपारो, सर्प र भ्यागुतो हालिदिएको भन्दै गोरखामा लाश काटियो !

गोरखा, साउन १९ ।
गोरखाको धार्चे गाउँपालिका–६ स्थित काशीगाउँका ५२ वर्षका भीमकुमार गुरुङको मृत्यु भयो । उनको मृत्यु भएपछि गाउँका दुई जना ५५ वर्षकी आमा र २९ वर्षकी छोरीलाई गाउँकै रोशन गुरुङ लगायतको समूहले बोक्सीको आरोप लगाए । ‘भीमकुमारको १० गते मृत्यु भएछ’, जिल्ला प्रहरी कार्यालय गोरखामा ठाडो निवेदन दिन आएकी सोममाया गुरुङले भनिन्, ‘बोक्सीले विष खुवाएर मारेको हो भन्छन् । उनीहरूले मृतक भीमकुमारको पेटभित्र छेपारो, सर्प, भ्यागुतो छ भन्दै ११ गते चिरेछन् ।’

भीमकुमारको पेट चिरेर हेर्दा पेटमा छेपारो, सर्प, भ्यागुतो केही नभेटेपछि गाउँलेहरूले ती आमाछोरीलाई जबर्जस्ती बोक्सीको आरोप लगाइएको थाहा लागेको गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले बताए । गाउँकै लामा झाँक्रीले मृतक भीमबहादुरको दाहसंस्कार समेत गरिसकेका छन् ।

बोक्सीको आरोप लागेका आमाछोरीलाई स्थानीयले सामाजिक बहिष्कार गरेको गाउँपालिका अध्यक्ष गुरुङको भनाई छ । बोक्सी आरोप लागेका परिवारका सदस्यहरूले शुक्रबार जिल्ला प्रहरी कार्यालय गोरखामा रोशन गुरुङ सहितको समूहलाई ठाडो उजुरी दिएका छन् । स्थानीयका अनुसार मृतक गुरुङ गत वर्षको मंसिरदेखि बिरामी थिए ।

‘हाम्लाई गाउँलेले सबै काममा बहिष्कार गरेका छन्’, राममायाले भनिन्–‘केही दिनअघि गाउँमा एक जना बुढी मरिन् । गाउँमा मान्छे मर्दा सबैले मानो चामल दिने चलन थियो । हाम्लाई त्यो पनि गर्न दिइएन । अहिले हाम्ले छोएको पानी पनि नखाने भनेको छ ।’

सोही घटनापछि धार्चेमा सुरु भएको पाउरोटी उद्योगसमेत बन्द भएको छ । गोरखा प्रहरीले भने उक्त घटनाबारे निवेदन परेको र अनुसन्धानको प्रक्रिया अघि बढाइएको जनाएको छ ।–थाहाखवरका लागि पत्रकार सन्तोष अधिकारीले समाचार लेखेका हुन् ।

पूरा पढ्नुहाेस् ।